April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

देउवाले पाए विश्वासको मत, तेस्रोपटक विघटन हुनबाट जोगियो प्रतिनिधि सभा

देउवाले पाए विश्वासको मत, तेस्रोपटक विघटन हुनबाट जोगियो प्रतिनिधि सभा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् । प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो । सो अनुसार देउवाले १६५ मत पाएपछि विश्वासको मत प्राप्त भएकोसभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

Advertisement

कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो । एक सांसद तटस्थ रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए ।

Advertisement

देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए ।  केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता केही नेताले देउवालाई धोका दिएका छन् । एमालेका उपध्यक्ष भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामा दिए । त्यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । माधव नेपाल र उनी पक्षका केही नेताले भने देउवालाई विश्वासको मत दिए ।
जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले अन्तिममा आएर देउवाको पक्षमा मतदान गरे । मतदान गर्नु अगाडि देउवासँग केही सहमति गरेको बाहिर आएको छ ।

एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो भने नेमकिपाले विपक्षमा मतदान गरेको थियो । अब विश्वासको मत पाएसँगै देउवा सरकारको सुनिश्चितता कायम भएको छ । कुल १७ महिना अर्थात अर्को चुनाब नहुनजेलसम्म उनी देशको प्रधानमन्त्री हुने छन् ।

संविधानको धारा ७६(५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै प्रतिनिधि सभा एकै कार्यकालमा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ ।