April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रत्यक्ष वैदेशिक लगानी ३ प्रतिशतले कमी, फिर्ता हुने रकम भने दोब्बरले बृद्धि

प्रत्यक्ष वैदेशिक लगानी ३ प्रतिशतले कमी, फिर्ता हुने रकम भने दोब्बरले बृद्धि

कोरोना महामारीका कारण देशको सम्पूर्ण आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । अर्थतन्त्रमा शेयर बजार बाहेकका सम्पूर्ण क्षेत्र तहस नहसकै अवस्थामा छन् । कोरोना महामारी बढ्दै जाँदा देशको राजस्वमा संकलनमा कमी भएको छ नै देशकै जनजिबन कमजोर भएको छ । नेपाल भित्रिने विदेशी लगानी घटेपनिको छ । यतिहुँदा पनि नेपालमा गरेको विदेशी लगानीबापत विदेश जाने रकम भने बढेको छ ।
नाफा, लाभांश अथवा लगानी फिर्ता लैजाने (रिपाटेसन)का क्रमले विदेश जाने रकम भने बढेको हो । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म ३९ करोड ६७ लाख रुपियाँ नेपालबाट फिर्ता गएको छ । अघिल्लो वैशाखको तुलनामा यो करिब दोब्बरले बृद्धि भएको केन्द्रीय बैंकको आँकडाले देखाउँछ । यसरी फिर्ता हुने रकम २०७७ वैशाखमा मात्र १९ करोड ९८ लाख रुपियाँ रहेको छ ।

Advertisement

बाह्य क्षेत्रअन्तर्गतको विदेशी लगानी पनि प्रभावित रह्यो । विदेशी लगानीका लागि आधारभूत कानुनी सुधारबाट अघि बढेको सरकारका लागि त्यसको लाभ लिने समयमा कोभिड–१९ तगारो बनेको छ अर्थात् नेपाल भित्रने विदेशी लगानी गत आवमा घटेको छ । नेपालको उद्योग क्षेत्रमा आउने प्रत्यक्ष वैदेशिक लगानी ३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष (२०७७÷०७८) को असार मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानीमार्फत उद्योग क्षेत्रमा आउने लगानी रकम अघिल्लो आर्थिक वर्ष (२०७६÷०७७)को सोही अवधिको तुलनामा तीन प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँले कमी आएको उद्योग विभागले जानकारी दिएको छ ।

Advertisement

कोभिड १९ को कारण विदेशी लगानीकर्ताहरु स्वयं उपस्थिति हुन नसक्दा पनि अघिल्लो आर्थिक वर्षको झिने गिरावट आएको हो । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप गत आर्थिक वर्ष (२०७७÷०७८) को असार मसान्तसम्मको अवधिमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत ४९ अर्ब २४ करोड १५ लाख रुपैयाँ भित्रिएकोे छ । सो रकम एक सय ८३ वटा ऊर्जा, पर्यटन, कृषि, उत्पादनजन्य लगायतको उद्योग स्थापना तथा पाँच हजार आठ सय ३३ जनालाई रोजगारी दिने उद्देश्यका साथ विदेशी लगानीकर्ताले विभागबाट स्वीकृत गराएका हुन्छ ।

कोरोनाका कारण नेपाल भित्रिने रकमको तुलनामा बाहिरिने रकममा भारी बृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म भ्रमणबापत ३० अर्ब ६५ करोड रुपियाँ नेपालबाट बाहिरिएको हो । अघिल्लो वैशाखमा ५१ अर्ब ८३ करोड रुपियाँ नेपालबाट बाहिरिएको थियो । एक वर्षको अन्तरमा भ्रमणबापत बाहिरिने रकम २१ अर्ब रुपियाँभन्दा बढीले घटेको देखिन्छ । यद्यपि भ्रमणबापत नेपाल भित्रिनेभन्दा बाहिरिने रकम २४ अर्ब रुपियाँले बढी देखिन्छ ।

विदेशी लगानी मात्र हैन, विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बनेको पर्यटक आगमनबापतको आम्दानी पनि कोभिड–१९ ले सबैभन्दा प्रभावित बनेको छ । उडान तथा विदेशी पर्यटकमाथि लगाइएको प्रतिबन्धले पर्यटनबापत नेपालले आर्जन गर्ने आम्दानी अहिलेसम्मकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । भ्रमण शीर्षकअन्तर्गत राखिने त्यस्तो आम्दानीबापत नेपालले वैशाखसम्म छ अर्ब ६५ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । अघिल्लो वैशाखमा यस्तो आम्दानी ५८ अर्ब ६२ करोड रुपियाँ थियो ।

विभिन्न शीर्षकमा नेपाल भित्रिने रकम घट्दा करिब २२ महिनापछि देशको शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपियाँले घाटामा पुगेको छ । अघिल्लो वैशाखसम्म शोधनान्तर स्थिति एक खर्ब ७९ अर्बले बचतमा थियो ।