April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

वैदेशिक सहायता लक्ष्यको ४५ प्रतिशत मात्रै

वैदेशिक सहायता लक्ष्यको ४५ प्रतिशत मात्रै

साउन ४, काठमाडौं ।
गत आर्थिक वर्ष २०७७÷७८ मा सरकार वैदेशिक सहायता प्राप्तिमा असफल देखिएको छ । सरकारले यो वर्ष उठाउन तोकेको लक्ष्यको ४५ प्रतिशत मात्र वैदेशिक सहायता प्राप्त गरेको हो । अर्थसचिव शिशिर कुमार ढुंगानाका अनुसार यो आर्थिक वर्षमा सरकारले कुल १ खर्ब ३९ अर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्त गर्न सकेको छ ।

Advertisement

आव ०७७÷७८ को बजेटले २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक ऋण र ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान ल्याउने लक्ष्य राखेको थियो । त्यसमध्ये वैदेशिक ऋणतर्फ १ खर्ब ३९ अर्ब रुपैयाँ र अनुदानतर्फ १७ अर्ब ६१ करोड प्राप्त भएको सचिव ढुंगानाले जानकारी दिए । त्यस्तै, सीधा भुक्तानीतर्फ ५ अर्ब ४१ करोड रुपैयाँ विदेशी स्रोत परिचालन भएको हो । यस वर्ष कुल १ खर्ब ६२ अर्ब रुपैयाँ वैदेशिक स्रोत परिचालन हुन सकेको उनले बताए । वैदेशिक सहायता तथा ऋण धेरैजसो पुँजीगत खर्चका कार्यक्रममा लक्षित रहेको हुन्छ । सो प्रयोजनको खर्च नै कम भएका कारण प्राप्ति समेत उत्साहजनक रहन नसकेको अर्थ मन्त्रालयको विश्लेषण छ । यो वर्ष पूँजिगत खर्च लक्ष्यभन्दा १ खर्ब २४ अर्ब कम प्रगति भएको छ ।

Advertisement

सरकारले यो आर्थिक वर्षमा अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता भने उत्साहजनक रुपमा प्राप्त गरेको थियो । अर्थ मन्त्रालयको आव २०७७÷७८ मा करीव साढे २ खर्ब बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको थियो । यसरी प्राप्त भएको प्रतिवद्धतामा ९० प्रतिशत हाराहारी ऋण र १० प्रतिशत हाराहारी अनुदान हो । यस्तै सरकारले यो वर्ष आन्तरिक ऋण भने लक्ष्यअनुसार नै संकलन गर्न सफल भएको छ । अर्थसचिव ढुंगानाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो सरकारले आव ०७६÷७७ मा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब रुपैयाँ स्रोत परिचालन गर्ने लक्ष्य बनाएको थियो ।

तर, आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले जम्मा ९० अर्ब ९६ करोड वैदेशिक ऋण र १६ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्न सकेको थियो । जुन लक्ष्यको ३० प्रतिशत हाराहारी मात्रै हुन आउँछ । त्यसअघि ०७५÷७६ मा पनि लक्ष्यको ५१ प्रतिशत हाराहारी मात्रै वैदेशिक स्रोत परिचालन भएको देखिन्छ । सरकारले बजेट बढाउन ल्याउनै नसक्ने वैदेशिक ऋण र अनुदान परिचालनको सहायता लिने गरेको तथ्यांकहरूले देखाउँछ ।

चालू आव ०७८÷७९ मा भने सरकारले पौने ४ खर्ब वैदेशिक स्रोत परिचालनको लक्ष्य लिएको छ । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट अध्यादेश ल्याएर कुल ३ खर्ब ७२ अर्ब वैदेशिक स्रोत परिचालनको लक्ष्य लिएका थिए । जसमध्ये ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान र ३ खर्ब ९ अर्ब २९ करोड वैदेशिक ऋणबाट बजेटको स्रोत पूर्ति गरिएको छ ।