August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ११ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा  २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार नौ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८०१ जनामा कोरोना देखिएको थियो।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१  जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । त्यस्तै, आज कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ। आइतबार २३ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार २५८ जना निको भएका छन्। आइतबार एक हजार ६६७ जना निको भएका थिए। हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन्। २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जना संक्रमित थपिएका छन् ।  काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

देशभर २३ हजार ३३४ जना संस्थागत आइसोलेसनमा २ हजार ५०३ आइसीयुमा ५६४ र भेन्टिलेटरमा १५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।