March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वाणिज्य बैंकहरूद्वारा ४२ खर्ब निक्षेप संकलन, ३७ खर्ब कर्जा लगानी

साउन ५, काठमाडौं ।

Advertisement

गत आर्थिक वर्ष ०७७/७८ मा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ४२ खर्ब रुपियाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् । कोरोना संक्रमणका कारण मुलुकको सिंगो अर्थतन्त्रमा नकारात्मक असर पारिरहेका बेला बैंकहरूले भने ४२ खर्ब २ अर्ब रुपियाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

Advertisement

त्यस्तै, कर्जा लगानी २९ खर्ब ३ अर्बबाट बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको तथ्यांक छ । सो अवधिमा निक्षेप २० दशमलव ४८ प्रतिशतले बढ्दा कर्जा लगानी २८ दशमलव १६ प्रतिशतले बढेको छ । गत आवको मौद्रिक नीतिले भने कर्जा लगानीको वृद्धि २० प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २ खर्ब ३७ अर्ब रुपैयाँले कर्जामा वृद्धि भएको छ । बैंकहरूले निक्षेप रकमको करिब ८८ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् । बैंकहरूले प्राथमिक पुँजी र निक्षेप रकमसमेत जोडेर हुने रकमको भने ७७ दशमलव ३८ प्रतिशत कर्जा लगानी गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा १३ दशमलव ३ प्रतिशतले निक्षेप बढेको थियो । वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २० दशमलव ८ प्रतिशतले बढेको छ । जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ६ प्रतिशत, ३४ दशमलव ३ प्रतिशत र ४८ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ४८ दशमलव २ प्रतिशत रहेको थियो ।त्यस्तै जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ९८ प्रतिशत रहेको थियो । उक्त अवधिमा कर्जातर्फ २४ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव ७ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४० दशमलव २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९ दशमलव १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव ९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलव ४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८ दशमलव २ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव ८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८ दशमलव २ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २४ दशमलव १ प्रतिशतले, रियल स्टेट कर्जा ११ दशमलव ९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव ६ प्रतिशतले र ट्रस्ट रिसिट कर्जा ५३ दशमलव २ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५ दशमलव ५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६(७७ मा कर्जाको वृद्धिदर १६ दशमलव ४० प्रतिशत रहेकोमा आव २०७५-७६ मा १८ दशमलव ३७ प्रतिशत, आव २०७४(७५ मा २१ दशमलव ७३ प्रतिशत, आव २०७३-७४ मा २५ दशमलव ७२ प्रतिशत र अब २०७२-७३ मा बैंकहरुको कर्जाको वृद्धिदर २६ दशमलव ९४ प्रतिशत रहेको थियो।नेपाल बैंक, नबिल, मेगा, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेपभन्दा कर्जा वृद्धि धेरै देखिएको हो । एक वर्षमा नेपाल बैंकको २० अर्बले निक्षेप बढ्दा ३७ अर्बले कर्जा बढेको छ । त्यस्तै, नबिलको करिब ३५ अर्बले निक्षेप बढ्दा कर्जा ५२ अर्बले, मेगाको करिब १३ अर्बले निक्षेप बढ्दा कर्जा २७ अर्बले बढेको छ ।

इन्भेष्टमेन्ट बैंकको निक्षेप ७ अर्बले बढ्दा कर्जा १५ अर्बले र स्ट्यान्डर्डको निक्षेप करिब ३ अर्ब रुपैयाँले घट्दा कर्जा १४ अर्बले बढेको हो । निक्षेप रकम घट्नेमा नेपाल एसबिआई बैंकसमेत छ । बैंकको अघिल्लो आवको तुलनामा ४ अर्बले निक्षेप रकम घटेर १ खर्ब ६ अर्बमा सीमित भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा सिभिल, सिटिजन्स र एनआइसी एसियाको कर्जा लगानी भने सबैभन्दा धेरैले बढेको छ ।सिभिलको कर्जा लगानी करिब ५५ प्रतिशतले बढेर ८३ अर्ब रुपैयाँ पुगेको हो । सिटिजन्स र एनआइसी एसिया दुवैको कर्जा लगानी ५२ प्रतिशतले बढेर क्रमशः १ खर्ब २३ अर्ब र २ खर्ब ६४ अर्ब पुगेको हो ।