April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

५२ व्यावसायिक फर्ममाथि कारबाही

५२ व्यावसायिक फर्ममाथि कारबाही

मोरङ । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि बिक्री वितरण गर्दै आएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।

Advertisement

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्म कारबाहीमा परेका हुन्।

Advertisement

तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस दुई लाख रुपैयाँ वा सोभन्दा बढी जरिवानामा परेका थिए ।

ती फर्मबाट १९ लाख पाँच हजार रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारबाही गरी नौ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।

यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।रासस