September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाललाई पार्टी एकताका लागि दबाब

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाललाई पार्टी एकताका लागि दबाब

साउन ७, काठमाडौं ।

Advertisement

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि सुरु भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि हुने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

Advertisement

हिजोको तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताए । पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यता नेता माधव नेपाललाई पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए । न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए ।