September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

गण्डकी प्रदेश सरकारले खर्च गर्न सकेन २६ प्रतिशत बजेट

गण्डकी प्रदेश सरकारले खर्च गर्न सकेन २६ प्रतिशत बजेट

साउन ७, काठमाडौं ।

गण्डकी प्रदेश सरकारले भर्खरै सकिएको आर्थिक वर्ष २०७७/७८ मा करिब ७४ प्रतिशत  बजेट खर्च गरेको छ । कुल बजेट ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारमध्ये २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलका अनुसार पुँजीगततर्फको १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजारमध्ये १७ अर्ब ६१ करोड ४४ लाख ८१ हजार (७९ प्रतिशत) खर्च भएको छ । यसैगरी चालुतर्फको १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजारमध्ये ८ अर्ब १२ करोड ६९ लाख १० हजार अर्थात् ६० प्रतिशत खर्च भएको छ ।

Advertisement

यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो । प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा लगायतका बाबजुत पनि सन्तोषजनक बजेट खर्च गरेको बताएको छ । आव २०७६/७७ मा ६३ प्रतिशत खर्च भएको थियो । २०७५/७६ मा ५७ प्रतिशत खर्च भएको थियो । प्रदेश सरकारले ९० प्रतिशत बजेट कार्यान्वयन गर्ने बताएको थियो ।  प्रदेश सरकारले असार ३० मा एकै दिन ८६ करोड रुपैयाँ खर्च गरेको छ । गत आवमा असारको अन्तिम दिन १ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको थियो । पौडेलले असारको २४ मा मात्रै १ अर्ब रुपैयाँ खर्च भएको बताए । असारमा मात्रै ९ अर्ब रुपैयाँ खर्च भएको छ । आर्थिक कार्यविधिअनुसार असार मसान्त अर्थात् अन्तिम दिन बजेटको कारोबार गर्न पाइँदैन । बजेट भुक्तानी गर्न नपाउने भएपछि असारको ३० मा नै बजेट कारोबार सम्पन्न भएको उनले बताए ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४६.५४ प्रतिशत बजेट खर्च गरेको छ । २ अर्ब ५० करोड ७२ लाख १४ हजार बजेट रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले १ अर्ब १६ करोड ६९ लाख ७८ हजार रुपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ३५.२६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २० करोड ६३ लाख ७५ हजार बजेट रहेको आर्थिक मामिलाले ७ करोड २७ लाख ६४ हजार खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ७४.३५ प्रतिशत बजेट खर्च गरेको छ । ६८ करोड ३ लाख ९० हजार बजेट रहेकोमा आन्तरिक मामिलाले ५० करोड ५८ लाख ८८ हजार खर्च गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७५.९५ प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ८८ करोड ६४ लाख २२ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले १ अर्ब ४३ करोड २७ लाख २३ हजार बजेट खर्च गरेको हो ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ६६.११ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३ अर्ब २० करोड ९५ लाख ४४ हजार बजेट रहेको सो मन्त्रालयले २ अर्ब १२ करोड १८ लाख १५ हजार रुपैयाँ बजेट खर्च गरेको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालयले ८१.२८ प्रतिशत खर्च गरेको छ । १८ अर्ब २५ करोड ४९ लाख ५ हजार बजेट रहेको सो मन्त्रालयले १४ अर्ब ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ खर्च गरेको हो ।

सामाजिक विकास मन्त्रालयले ६१.८२ प्रतिशत बजेट खर्चिएको छ । कुल ५ अर्ब ४२ करोड ४९ लाख २५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ३ अर्ब ४६ करोड २० लाख ६४ हजार रुपैयाँ बजेट खर्चिएको छ । सरकारका संरचना लगभग सबै तयार भएको, काम लयमा गएको र कार्यान्वयन गर्न सक्ने क्षमता विकास भएका कारण पुँजीगत बजेट कार्यान्वयन चालू वर्ष बढ्ने सरकारको विश्वास छ । यो वर्ष ३० अर्ब ३ करोड रुपैयाँको बजेट छ ।