March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

ठेक्का सकारेको रकमभन्दा आधामा भवन निर्माण

ठेक्का सकारेको रकमभन्दा आधामा भवन निर्माण

काठमाडौं । कैलालीको टीकापुर–९ खक्रौला नाकामा ठेक्कामा सकारेको रकमभन्दा आधा रकममा भवन निर्माण भएको छ । नाकामा हेल्थ डेस्कको भवन आधा रकममा निर्माण गरिएको हो । ठेक्का सकारेको रकमभन्दा आधा रकममै हेल्थ डेस्क निर्माण भएपछि स्थानीयवासीले भवनको गुणस्तरमा प्रश्न गर्न थालेका छन् ।

Advertisement

भवन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय कैलालीले ठेकेदारमार्फत बनाएको हो । शौचालयसहित एककोठे हेल्थ डेस्क बनाउन निर्माण कम्पनीले १३ लाख ९१ हजारमा ठेक्का पाएको थियो तर भवन सात लाखमै निर्माण गरिएको छ ।

Advertisement

डिडी कन्स्ट्रक्शन धनगढीले १३ लाख ९१ हजारमा ठेक्का पाएको सो संस्थाका प्रतिनिधि डिल्लीराज भट्ट बताउँछन् । “हामीले ठेक्का पायौँ र काम समयमै सम्पन्न गरेका छौँ”, उनले भने, “भवन गुणस्तरीय छ ।”

हेल्थ डेस्क निर्माणका लागि गरिएको ‘स्टमेट टाइट’ भएको बताउने डिडी कन्स्ट्रक्शनले सात लाखमा हेल्थ डेस्क निर्माणका लागि पेटी ठेकेदारलाई जिम्मा दिएको थियो । आफूले डिडी कन्ट्रक्शनबाट सात लाखमा ठेक्का लिएको र लागत अनुमानमा भनिएअनुसार काम सम्पन्न गरेको पेटी ठेकेदार राजेश साउद बताउँछन् ।

“निर्माण कम्पनीले हामीलाई सात लाखमा ठेक्का दियो, मैले समयमै काम सकेको छु”, उनले भने, “अब उहाँहरुले कतिमा सम्झौता गर्नुभयो, त्यो त थाहा छैन ।”

१३ लाख ९१ हजारमा ठेक्का सकारेको कामको ‘स्टमेट टाइट’ भए हेल्थ डेस्क सात लाखका बनाउन कसरी सम्भव होला भनी स्थानीयवासीले प्रश्न गर्न थालेका छन् । स्थानीयवासी सन्देश चौधरी एउटा पूर्वाधार निर्माण गर्दा आधा रकम बचाएर बनाए त्यस्तो गुणस्तरमा प्रश्न गर्नु स्वभाविक भएको बताउँछन् ।

“हामीले त पछि थाहा पायौँ, करिब १४ लाख रकम रहेछ । यत्रो रकममा चार कोठासम्म बनाउन सकिन्थ्यो, एउटै कोठाको भवन निर्माण गरियो”, चौधरीले भने, “एउटै भवनबाट आधा रकम बचाएमा अरु काम किन गर्नुप¥यो ।”

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार आफूहरुले दिएको डिजाइनअनुसार निर्माण कम्पनीले हेल्थ डेस्क निर्माण गरेको हो । “हामीले दिएको डिजाइनअनुसार बनेको छ । त्यसमा कुनै गल्ती भेटेको छैन”, उनले भने ।

पेटी ठेकेदार साउदका अनुसार हेल्थ डेस्क निर्माणका लागि ठेक्का सकारेको रकमभन्दा झण्डै आधा रकममा निर्माण भएको देखिन्छ । निर्माण कम्पनीले १३ लाख ९१ हजारमा ठेक्का सकारेकामा हेल्थ डेस्कको भवन सात लाखमा निर्माण गरिएको छ ।

यो अवस्था हेर्दा १३ लाख ९१ हजारको ठेक्कामा ६ लाख ९१ हजार बचेको देखिन्छ । ठेक्कामा सकारेको रकमभन्दा न्यून रकममा निर्माण सम्पन्न हुनु कि काम कमसल हुनु हो कि बढी लागत अनुमान गर्नु हो भन्छन, टीकापुर नगरपालिकाका इञ्जीनियर नवीन ओझा ।

नेपालमा दोस्रो पटकको कोरोना कहर शुरु भएपछि खक्रौला नाका भएर नेपाल आउने नागरिकको निगरानीमा सहयोग पुगोस् भनी सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य कार्यालय कैलालीले १५ लाख बजेटको व्यवस्था गरेको थियो ।

त्यही बजेटमा बोलपत्र भई हेल्थ डेस्कको भवन निर्माण गरिएको हो । मन्त्रालयको सहयोगमा दुई वर्षदेखि खक्रौला नाका हेल्थ डेस्क स्थापना गरिएको छ । यो नाका भएर नेपाल प्रवेश गर्ने नागरिकको क्षयरोग, ज्वरो परीक्षण गर्ने तथा स्वास्थ्य परामर्श दिने कार्य गरिन्छ । रासस