September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर बाहिरिन

सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर बाहिरिन

जापानको राजधानी टोकियोमा भइरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् ।

Advertisement

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो हुन सफल भए ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।