September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

रेष्टुरेन्ट व्यवसायीद्वारा भ्याट हटाउन अर्थमन्त्रीसँग माग

रेष्टुरेन्ट व्यवसायीद्वारा भ्याट हटाउन अर्थमन्त्रीसँग माग

रेष्टुरेन्ट व्यवसायीले सरकारले लिने भ्याट हटाउन माग गरेका छन् । व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट्दै रेष्टुरेन्टमा खानाको कच्चा पदार्थमा स्वदेशी उत्पादन र कृषि उपज प्रयोग गर्ने भन्दै भ्याट छुटको माग गरेका हुन् ।

व्यवसायीले शुक्रबार अर्थमन्त्रीसँग भेटेर मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न माग गरेका हुन् । मौद्रिक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीको जीविकोपार्जनका लागि कम्तिमा ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन समेत व्यवसायीले माग गरेका छन् ।

Advertisement

त्यसैगरी, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । चालु आवको बजेटमा सरकारले सरकारी कर्मचारीका लागि १० दिने भ्रमण बिदा दिने घोषणा गरेको छ ।

वित्तीय संस्थाले कम्तिमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरी आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।

यसले कर्मचारीले मुलुक घुम्न पाउने, होटेल–रेष्टुरेन्ट व्यवसायीलाई करको दायरामा समेट्न सहज हुने, मुलुकको पैसा विदेशिन नपाउने र कोभिडबाट अति प्रभावित आतिथ्य सेवालाई केही मात्रामा भए पनि राहत पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।