September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

वैदेशिक व्यापार ३० प्रतिशतले बढ्दा १५ खर्ब ३९ अर्बको वस्तु आयात

वैदेशिक व्यापार ३० प्रतिशतले बढ्दा १५ खर्ब ३९ अर्बको वस्तु आयात

साउन १०, काठमाडौं ।

मुलुक कोभिडले आक्रान्त बनिरहँदा आर्थिक वर्ष ०७७/७८ मा  वैदेशिक व्यापार भने करिब ३० प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्षमा २९ दशमलव ८५ प्रतिशतले बढेर १६ खर्ब ८० अर्ब पुगेको छ । आव ०७६/७७ मा नेपालले कुल १२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार आयात व्यापार २८.६६ प्रतिशत बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा आयात व्यापार ११ खर्ब ९६ अर्ब ७९ करोड थियो । यस्तै निर्यात पनि केही सुधार भएको छ । निर्यात व्यापार ४४.४३ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ ।

Advertisement

गत वर्ष ९७ अर्ब ७० करोडको निर्यात भएको थियो । आर्थिक वर्ष सुरु भएको दोस्रो महिनाबाट कोभिड महामारी बढेपछि नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा गरिएको थियो । त्यसवेला निषेधाज्ञा खुला गरिएपछि आर्थिक गतिविधि बढेको थियो । तर, गत चैतदेखि दोस्रो लहरको कोभिड महामारी सुरु भएपछि पुनः आर्थिक क्षेत्र प्रभावित बन्यो । सरकारले दोस्रो लहरको कोभिड महामारी नियन्त्रणका लागि १५ जेठदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्‍यो । अढाई महिना लामो निषेधाज्ञाले उत्पादनदेखि, आयात, आपूर्ति र उपभोगसम्म प्रभावित बन्यो । निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएपछि पुनः आर्थिक गतिविधि बढ्यो । पटक–पटक गरिएको निषेधाज्ञा र महामारीको जोखिमकै बीच वैदेशिक व्यापार भने उच्चदरमा बढेको हो ।

आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको विभागको तथ्यांक छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बाहिरिएको छ । यसैगरी डिजेल खरिदमा ९१ अर्ब ९४ करोड, एलपी ग्यास खरिदमा ३६ अर्ब १५ करोड र पेट्रोल खरिदमा ३२ अर्ब ४४ करोड बाहिरिएको विभागको तथ्यांक छ । साथै एमएस बिलेट ७१ अर्ब ५२ करोड र भटमासको तेल कच्चा पदार्थ ५३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ । कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात हुन्छ । यस्तै ३६ अर्ब ९० करोडको मोबाइल फोन, २९ अर्ब ४८ करोडको तयारी कपडा, २७ अर्ब ६६ करोड रुपैयाँको पोलिथिन दाना र २७ अर्ब ४८ करोड रुपैयाँको चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

निर्यातमा पहिलो नम्बरमा भटमासको तेल नै छ । एक वर्षको अवधिमा ५३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । भटमासको तेल निर्यातले समग्र निर्यात बढाएको छ । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट कच्चा तेल आयात गर्छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर पुनः भारत निर्यात गर्ने गरिएको छ । निर्यातमा सेन्थेटिक यार्न दोस्रोमा छ । एक वर्षमा ८ अर्ब २६ करोडको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी उनी गलैंचा कार्पेट ७ अर्ब २४ करोड, अलैंची ७ अर्ब २ करोड, तयारी कपडा ५ अर्ब ११ करोड र जुटका बुनिएका कपडा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ ।

त्यस्तै ,नेपालको व्यापार घाटा झन्डै १४ खर्ब पुगेको छ । आर्थिक वर्ष ०७७/७८ मा नेपालको कुल व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २७.२६ प्रतिशतले बढी हो । आव ०७६/७७ मा नेपालले १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको थियो ।