September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

खोपका लागि सरकारमाथि चौतर्फी दबाब, स्वास्थ्य मन्त्री भन्छन- ‘मेरो पहिलो प्राथमिकता’

खोपका लागि सरकारमाथि चौतर्फी दबाब, स्वास्थ्य मन्त्री भन्छन- ‘मेरो पहिलो प्राथमिकता’

साउन ११, काठमाडौं ।

कोभिड–१९ को दोस्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीलाई आक्रान्त तुल्याएको जनाउँदै निजी क्षेत्रका छाता संगठनले  खोप उपलब्ध गराउन माग गरेका छन् ।  निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत व्यावसायिक संठगनहरूले खोप उपलब्ध गराउन हुन । कोरोना महामारीबीच पनि अर्थतन्त्रलाई चलायमान बनाउन खोपको विकल्प नरहेको बताउँदै आएका छन् । यातायात व्यवसायी, डेरी व्यवसायी, पेट्रोलियम व्यवसायीलगायत अत्यवाश्यक सेवा क्षेत्रले पनि कोरोना खोपका लागि सरकारलाई दबाब दिँदै आएका छन् ।

Advertisement

समयमै खोप उपलब्ध नहुँदा समस्त व्यावसायिक क्षेत्रको आत्मबल खस्केको चेम्बरले जनाएको छ । अधिकांश व्यवसाय बन्द रहेको र भ्याक्सिन पनि उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग–व्यवसाय सञ्चालन गर्नसमेत चुनौतीपूर्ण अवस्था सिर्जना भएको चेम्बरका महासचिव कैलाशकुमार बजिमयले बताए । जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारको आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत यस वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।

त्यसैगरी, नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि खोप उपलब्ध गराउन माग गरेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी तथा व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवाल नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर यस्तो माग गरेको हो । साथै महासंघले कोरोना प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत छुट गर्न र व्यवसायलाई टिकाइराख्न सहुलियतदरमा बिनाधितो ऋण उपलब्ध गराउने वातावरणसमेत माग गरेको छ ।

महासंघले उद्योगी व्यवसायीलाई सहजरूपमा पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, आगामी दुई वर्षका लागि कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनुपर्ने पनि माग गरेको छ । निजी क्षेत्र खोपका लागि दबाब दिए पनि सरकारले भने खोप खरिद गर्न सकेको छैन । खोपका लागि बजेटको व्यवस्था त गरेको तर खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई खोप आवश्यक रहेको भन्दै तत्काल खोप उपलब्ध गराउन नसक्ने बताउँदै आएका छन् ।

यसैबीच नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको  खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।  राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।’

आफुलाई शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको समेत जानकारी भएकाले स्वास्थ्य क्षेत्रलाई कुन तरिकाले अगाडि बढाउने भन्ने विषयमा तयारी गर्ने समेत राज्यमन्त्रीले बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।