September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार, महिला २२ प्रतिशतमात्रै

कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार, महिला २२ प्रतिशतमात्रै

साउन १२, काठमाडौं ।
कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख नाघेको छ । कांग्रेसले १४ औँ महाधिवेशनका लागि गएको महाधिवेशनमा भएको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने निर्णय गरेको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले आसन्न महाधिवेशनका लागि आठ लाख ५२ हजार सात सय ११ सदस्यहरूको नामावली सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।

यसअघि १३ औँ महाधिवेशनमा चार लाख ७० हजार सदस्यमात्रै थिए । जसमध्ये पुराना सदस्यको संख्या चार लाख नौ हजार ३३ जनाको नवीकरण भएको छ भने यसपटक चार लाख ४३ हजार ६ सय ७८ जनालाई नयाँ सदस्यता दिइएको छ । तीमध्ये ७४.२६% अर्थात् ६ लाख ५३ हजार छ सय ७८ जना पुरुष सदस्य छन् भने महिलाको संख्या २२.६२% अर्थात् एक लाख ९९ हजार ९७ मात्रै छ । अन्य १७६ जना सदस्य छन् ।

Advertisement

प्रतिवेदनअनुसार ४१–६० वर्ष उमेर समूहका क्रियाशील सदस्य ३ लाख २८ हजार २३४ अर्थात् ३७.३% रहेका छन् । त्यसपछि २६–४० वर्ष उमेरका क्रियाशील सदस्य २ लाख ४९ हजार ७७४ अर्थात् २८.३८% रहेका छन् । १६–२५ वर्ष उमेरका क्रियाशील सदस्य ४० हजार ४२७ अर्थात् ४.५९% छन् भने ६०–७५ वर्ष उमेरका क्रियाशील सदस्य ८३ हजार १० अर्थात् ९.४३% रहेका छन् । सबैभन्दा कम क्रियाशील ७५ वर्षमाथि उमेरका ११ हजार ७८२ अर्थात् १.३३% रहेका छन् ।

केन्द्रीय सदस्य रमेश लेखकको सयोजकत्वको छानविन समितिले सप्तरी, बारा, रसुवा र सिन्धुपाल्चोकका नयाँ सदस्यतालाई आगामी महाधिवेशनका लागि स्थगित गरेर ७३ जिल्लाको विवरण बुझाएको हो । तर, छानविनका लागि आवश्यक पर्ने सक्कल कागजात प्राप्त नभएको र छानविनको काम पूर्ण नभएको भन्दै सदस्य कल्याणकुमार गुरुङले भने फरक मत राखेका छन् । समितिले सबै निर्णयहरू सर्वसम्मत रुपमा निर्णय गर्ने र सर्वसम्मत नभए त्यस्ता विवादलाई अर्को महाधिवेशनका लागि स्थगित गर्ने मापदण्ड बनाएको थियो ।