September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त, प्रदेश प्रमुखमा गुरुङ र शेरचन

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त, प्रदेश प्रमुखमा गुरुङ र शेरचन

१२ साउन, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीबहादुर गुरुङ लाई नियुक्त गर्ने निर्णय गरेको हो ।
माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहो¥याउने गरि सिफारिस गरेको थियो । तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो । संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति उही प्रदेशमा दोहोरिन नपाउने व्यवस्था छ ।

Advertisement

शेरचनलाई गण्डकीमा दोहो¥याउन संविधान अनुसार नमिलेपछि त्यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीसहित विज्ञलाई बालुवाटार बोलाएका थिए । गण्डकी प्रदेश प्रमुख नियुक्तिको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले छलफल गरेर शेरचनलाई लुम्बिनी र गुरुङलाई गण्डकीमा राख्ने निर्णय लिएका हुन् ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्नो भागमा परेका प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको लागि सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रको यो सिफारिस असंवैधानिक भएको कुरा उठेपछि देउवाले मुख्यसचिवसहितका विज्ञहरुसँग बालुवाटारमा परामर्श गरेका थिए। यसअघि एउटै पार्टीको मुख्यमन्त्री र प्रदेश प्रमुख नबनाउने सहमतिअनुरुप गण्डकीमा माओवादी केन्द्र र लुम्बिनीमा कांग्रेसलाई प्रदेश प्रमुख दिने भनिएको थियो ।