September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

व्यापारघाटा २७ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब पुग्यो

व्यापारघाटा २७ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब पुग्यो

साउन १३, काठमाडौं ।
आर्थिक वर्ष २०७७–०७८ मा समग्र व्यापारघाटा २७ प्रतिशतले बढेर करिब १४ खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष व्यापार घाटा बढेर कुल १३ खर्ब ९८ अर्ब ७१ करोड २९ दाख ८७ हजार पुगेको हो । विभागको तथ्यांक अनुसार गत वर्ष वैदेशिक व्यापारमा नेपालले विभिन्न १४० मुलुकसँगको व्यापार घाटामा रहेको पाइएको छ । नेपालले कुल १६१ वटा मुलुकसँग व्यापार गर्ने गरेकोमा २१ वटा मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ ।

अघिल्लो आवमा १ सय ५५ व्यापार गरेकोमा २५ वटा देशसँग नाफा व्यापार रहेको थियो । गत आवमा व्यापार गर्ने मुलुक बढे पनि नेपालको व्यापार नाफा हुने देश भने घटेका छन् । उच्च दरमा विभिन्न सामग्रीहरू आयात र न्यून दरमा नेपालका सामग्रीहरू निर्यात भएपछि १४० मुलुकसँग व्यापार घाटा देखिएको हो । व्यापार नाफामा रहेका मुलुकहरूमध्ये साइरन अरब रिपब्लिका, क्यालिडोनिया, मोनाको, मादिभ्स, लेबनान, कन्गो, इस्टोयिना, बोस्टानिया, अजरबैजान, होन्डुरसलगायतका मुलुक रहेका छन् । ती मुलुकबाट आयात कम हुँदा नाफामा रहेका हुन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग रह्यो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष भारतसँग ८ खर्ब ६५ अर्ब २३ करोड १८ लाख ९० हजार रुपैयाँ व्यापार घाटा रहेको छ ।

Advertisement

गत वर्ष भारतबाट मात्र ९ खर्ब ७१ खर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँको आयात भएको छ । सो अवधिमा नेपालबाट भारतमा मात्र १ खर्ब ६३ करोड ७२ लाख ५५ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै यो अवधिमा चाइनाबाट २३ अर्ब ३९ करोड २३ लाख ६० हजार रुपैयाँको आयात भएकोमा १ अर्ब १६ करोड ५७ लाख रुपैयाँको निर्यात भएको छ । एक वर्षमा १९ अर्ब ५० करोड १४ लाख १६ हजार रुपैयाँको आयात हुँदा अमेरिकामा १३ अर्ब ७९ करोड ३५ लाख ३४ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यस्तै १ अर्ब २० करोड ३३ लाख ७१ हजारको सामान भुटानबाट आयात हुँदा ६३ करोड ६३ लाख ३२ हजार रुपैयाँको निर्यात भएको छ । आयात बढ्दै गए पनि नेपालबाट निर्यात बढाउन नसक्दा नेपालले धेरै मुलुकसँग व्यापारघाटा बेहोर्दै आएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको भन्दा २८.६६ प्रतिशतले बढी हो । आव ०७६/७७ मा नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको थियो । यस अवधिमा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँबराबरको निर्यात गरेको छ, जुन अघिल्लो वर्षको भन्दा ४४.४३ प्रतिशतले बढी हो । आव ०७६/७७ मा नेपालले कुल ९७ अर्ब ७० करोड रुपैयाँबराबरको निर्यात गर्न सकेको थियो ।