September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

शेयर बजारमा १५.१३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा १५.१३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

साउन १४, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार परिसूचक नेप्से  घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ सूचक पनि ३.४७ अंकले घट्दै ५७०.८५ विन्दुमा झरेको छ ।

Advertisement

यस दिन कारोबार रकम पनि झण्डै ११ अर्बमा मात्रै सिमित छ । कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

आज बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार अङ्कले, जलविद्युतको २८ अङ्कले, फाइनान्सको ५४ र माइक्रोफाइनान्स समूहको शेयर पाँच अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ८६ अङ्कले, निर्जीवनका ६९, उत्पादनको ५३, अन्यको १३ र लगानी समूहको शेयर झन्डै साढे एक अङ्कले घटेको छ ।

आज गुडविल फाइनान्सको शेयर सात प्रतिशत र माउन्टेन हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि रिडी हाइड्रोको झन्डै १० र जीवन विकास लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी आज हिमालयन डिष्टिलरीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।