April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादः धितोपत्र बोर्डपछि नेप्सेलाई समेत स्पष्टिकरण

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले प्राथमिक निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर आचारसंहिता र कानून विपरीत हात पारेको समाचार सार्वजनिक गरेपछि मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।

Advertisement

धितोपत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको प्रमाणसहितको समाचार सार्वजनिक गरेको थियो । उनले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको थियो ।

Advertisement

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले १३ साउनमा पठाएको पत्रमा विभिन्न सञ्चारमाध्यममा बोर्डसँग सम्बन्धित समाचार प्रकाशन भएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ । पत्रमा भनिएको छ, “सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ ।”

उता नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीको नाममा उक्त कम्पनीको शेयर राखेको देखिएको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सर्वोत्तमको सेयर किनेका छन् । नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा सेयर नामसारी भएको भेटिए पछि इन्साइडर ट्रेडिङ भएको भन्दै कारबाहीको हुनुपर्ने आवाज उठेको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाखाशाले तीन दिनको समय सीमा नै तोकेर स्पष्टीकरण सोधे पनि बोर्ड अध्यक्ष तथा सीईओ साउदको नाम भने तोकेको छैन ।