September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

एमसीसीसँग भएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

एमसीसीसँग भएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

साउन १५, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीको सबै सम्झौताहरु संसदमा पेश गर्न माग गरेका छन् ।शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेता रावलले एमसीसीसँग गरिएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न माग गरेका हुन् । प्रतिनिधिसभा बैठकमा विशेषमा बोल्दै नेता रावलले यसअघि भएका असमान सन्धी सम्झौताका कारण नेपाली जनताले धेरै दुख व्यहोर्नु परेका बताउदै उनले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुनेमा उनले जोड दिए।

Advertisement

स्वयं अमेरिकी मन्त्रीहरूबाट एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनिरहेको समयमा नेपालका अधिकारीहरूले होइन भन्नु हास्यास्पद भएको उनको भनाइ छ । ‘अमेरिकी मन्त्रीहरूले नै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनेर वक्तव्य दिइरहेका छन् । अमेरिकी मन्त्री अधिकारिक हुन् कि नेपालका व्यक्तिहरू ?,’ रावलले भने, ‘देश विशेषसँग अनुदान लिनु हुँदैन भनेर भनेको छैन, देशलाई सामरिक गठबन्धनमा घिसार्ने काम गर्नु हुँदैन । एमसीसी संसदबाट अनुमोदन नहुँदै मन्त्रीबाट गरिएको सम्झौताको प्रतिलिपि प्रतिनिधि सभाका सदस्यले अनुमोदन गर्न पाउनु पर्छ ।’

जनतालाई भ्रममा पार्ने र मुलुकको सार्वभौकिता र अखण्डतामा असर गर्ने सम्झौता गरियो भने राष्ट्रघात हुने उनको भनाइ छ । एमसीसी सम्झौताका सबै पत्र संसदमा पेश गर्न उनले चुनौती दिए । रावलले नेपालका लागि अमेरिकी राजदूतबाट एमसीसी अनुदान होइन लगानी हो भनेकोले पनि वैदेशिक लगानीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए । नेपालको संविधानभन्दा अरू देशको कानून माथि हुन नसक्ने भन्दै रावलले यो अनुदानबाट देशको कायापलट हुन्छ भनेर भ्रम नबाँड्न आग्रह गरे । ‘एमसीसीसँग भएका सम्झौता यहाँ प्रस्तुत गरियोस्, त्यहाँ भएका राष्ट्रिय हित र स्वाभिमानविपरीतका कुरा स्वीकार्य हुँदैन, अनुदान हो भने निःस्वार्थ हुनुपर्छ, एउटा कम्पनीको अधिनमा हाम्रो भूमि कब्जा हुने कुरा स्वीकार्य हुँदैन,’ रावलले भने ।