September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सुन आयात दोब्बरले बढ्यो, वर्षमा २७ करोड ६६ लाखको आयात

सुन आयात दोब्बरले बढ्यो, वर्षमा २७ करोड ६६ लाखको आयात

साउन १८, काठमाडौं ।
गत आर्थिक २०७७–७८ मा कुल २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांक अनुसार आर्थिक वर्षमा उक्त रकम बराबरको ३ हजार ९२४ केजी सुन आयात भएको छ । जुन अघिल्लो आव २०७६–७७ को भन्दा दोब्बर हो । अघिल्लो आवमा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । परिमाणका आधारमा अघिल्लो आवमा २ हजार ४ सय केजी सुन आयात भएको थियो ।

कोरोना महामारी र मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । तर, गत आवमा भने कोरोना महामारीकाबीच पनि सुनको आयात दोब्बर मात्रामा बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्ष २०७७–७८ को असार महिनामा मात्र नेपालमा ६ अर्ब २७ करोड ६६ लाख रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । नेपालमा मासिक ३ अर्ब रुपैयाँसम्मको सुन आयात हुने गरेको थियो । असारमा महिनामा मात्रै २ गुणा भन्दा बढी अर्थात् ६ अर्ब २७ करोड रुपैयाँ बराबरको सुन आयात भएको विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार असारमा ९०६ केजी ५ सय ग्राम काँचो सुन आयात भएको छ । कोरोनाको दोस्रो लहर र त्यसलाई नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण गत बैशाखको दोस्रो सातादेखि जेठ मसान्तसम्म सुन आयात ठप्प थियो । असारमा निषेधाज्ञा खुकुलो बनाएसँगै सुन आयात पनि उच्च देखिएको छ । आव २०७५÷७६ मा साढे ३४ अर्ब रुपैयाँको भन्दा बढी सुनको आयात भएको थियो । आव २०७४÷७५ मा १३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो । तर, गत आवमा भने सुनको आयात दोब्बर मात्रामा बढेको छ । यद्यपि, यो आव २०७५÷७६ को तुलनामा भने कम नै हो ।

कोरोना महामारीका कारण जारी अघिल्लो वर्षको लकडाउनमा सम्पूर्ण पसल व्यवसाय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण सुन आयात कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मनिरत्न शाक्यले बताए । अघिल्लो आवमा अमेरिका र चीनको व्यापार युद्धका कारण अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो । पछि कोरोना महामारीका कारण पनि सुनको मूल्य थप बढ्न थाल्यो । त्यस क्रममा नेपालमा प्रतितोला ६० हजारको हारहारीमा रहेको सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो ।

यसरी सुनको मूल्य बढ्दा नेपालमा यसको कारोबार ह्वात्तै घट्यो । त्यसको असरले नै सुनको आयात प्रभावित हुँदै आएको थियो । तर, अहिले सुनको आयात विस्तारै बढ्दै गएको देखिन्छ । बैंकहरुले दैनिक २० केजी सुन आयात गर्दै आएका छन् । गत आर्थिक वर्षमा काँचो सुन आयातबाट सरकारले ३ अर्ब ३३ करोड ५८ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।