September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. गौतम

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. गौतम

साउन १८, काठमाडौं ।

सरकारले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा. गौतम जिम्मेवारीमुक्त भएका हुन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई जिम्मेवारीबाट हटाएका हुन् । उनलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको प्रमुखको रुपमा जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पुष्टी गरे ।

Advertisement

डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई जिम्मेवारी तोकिएको छ । वीर अस्पतालका कर्मचारीहरु डा. गौतमविरुद्ध आन्दोलित भएपछि उनी विवादमा तानिएका थिए । आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उनले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए । त्यस लगत्तै अस्पतालका कर्मचारीले डा. गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए । डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा करोडौंको सामान उपलब्ध गराउन अनैतिक रुपमा टेण्डर दिलाएको आरोप समेत कर्मचारीहरुले लगाइरहेका छन् । गौतमले गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।