September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

कोरोना संक्रमण नियन्त्रण र उपचारमा ३१ अर्ब २८ करोड खर्च

कोरोना संक्रमण नियन्त्रण र उपचारमा ३१ अर्ब २८ करोड खर्च

काठमाडौं, साउन २१ ।
सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारमा हालसम्म ३१ अर्ब २८ करोड रकम खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार संक्रमण फैलिए यता सरकारले विभिन्न शिर्षकमा उक्त खर्च गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा १४ अर्ब ५ करोड रकम खर्च भएको थियो देखाईएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा १७ अर्ब २२ करोड रकम खर्च भएको छ । यसमध्ये ७ प्रदेशले ३ अर्ब रकम खर्च गरेका छन् । कोरोना संक्रमणका नाममा स्थानीय सरकार ले ९ अर्ब ६१ करोड रकम खर्च गरेको विवरण महालेखाले निकालेको छ । सबै खर्च जोडने हो भने हालसम्म कोरोना नियन्त्रण र उपचारमा झण्डै ३१ अर्ब २८ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । उनका अनुसार यो खर्च महालेखालाई उपलब्ध गराईएको मात्र हो ।

Advertisement

कोरोना नियन्त्रण पछि भएको वास्तविक खर्चको विवरण भने हालसम्म कुनैपनि निकायले सार्वजनिक गरेका छैनन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले संक्रमण नियन्त्रणका नाममा खर्च भएको रकमको विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि हालसम्म सार्वजनिक भएको छैन् । आधिकारीकता भनेको दाताले दिएको कोरोना संक्रमण नियन्त्रण र उपचार कोषमा जम्मा भएको पैसको मात्र विवरण हो । उठेको २ अर्ब ५२ करोड रकमसमेत खर्च भएको प्रवक्ता पौडेल दाबी छ । यस्तै खोप खरिद गर्न मात्र सरकारले १९ अर्ब ५८ करोड सहुलियत ऋणसमेत लिएको छ । संक्रमण नियन्त्रणका लागि प्राप्त स्रोतको प्रभावकारी परिचालनसँगै खर्च पारदर्शीता पनि उत्तिकै जरुरी रहेको देखिन्छ ।

संक्रमण नियन्त्रण गर्न अमेरिका, स्वीजरल्याण्ड, सिंगापुर, स्पेन, चीन र बंगलादेशलगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट करिव २ अर्ब ५० करोड रकम बराबरको स्वास्थ्य उपकरण प्राप्त भइसकेको छ भने एसियाली विकास बैंक, जापान सरकार, विश्व बैंक लगायतबाट थप ८ अर्ब ९ करोडको सहायता प्राप्त हुने सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।