March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक : हेप्ने गरेकाले डिपे्रसनमा परेर हत्या

संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक : हेप्ने गरेकाले डिपे्रसनमा परेर हत्या

संखुवासभाको मादी–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या गर्ने १३ दिने नातावाला मादी– १ का २६ वर्षीय लोकबहादुर कार्कीलाई संखुवासभा प्रहरीले भर्खरै सार्वजनिक गरेको छ । अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल भएका लोकबहादुरलाई शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो । तर ठोस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो । पक्राउ परेका लोकबहादुर नातामा मृतक तेजबहादुरका भतिज पर्दछन् ।

Advertisement

मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन् । हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई दिएका छन् ।

Advertisement

प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसइबीका कारण हत्या गरेको बयान दिइसकेका छन् । घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए ।
घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।
एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको प्रहरीसमक्ष बयान दिएका छन् ।
शुरुमा उनले तेजबहादुरको हत्या गरेको त्यसपछि अन्य सदस्यहरूको हत्या गरेको बयान दिएको बताइन्छ । घरभित्र, बाटोमा, बारी र खोल्सामा गरी सोमवार विभिन्न चार स्थानमा ६ वटा शव फेला परेको थियो ।

८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकी कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भएको हो ।