March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रिकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुई संस्थाको प्रतिनिधित्व गरी आएका चाङ्चीङ छिङले आइतवार महानगर प्रमुख रेनु दाहाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

सहयोग गरिएका सामग्रीमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क ६ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान रहेका छन् ।

Advertisement

महानगर प्रमुख दाहालले मित्रराष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताइन् । यसले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौं,’ उनले भनिन् । स्वास्थ्यकर्मी र कर्मचारीलाई उक्त स्वास्थ्य सामग्रीको सदुपयोग गर्न उनले अनुरोध गरिन् ।

सो अवसरमा चाङ्चीङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताए । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उनको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताए । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सिगात्सेको यो दोस्रो पटकको सहयोग रहेको उनले बताए । रासस