April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

बीमा कम्पनीको लगानी ४ खर्ब ६ अर्ब, शेयर बजारमा मात्रै ६० अर्ब २ करोड

बीमा कम्पनीको लगानी ४ खर्ब ६ अर्ब, शेयर बजारमा मात्रै ६० अर्ब २ करोड

असोज १,काठमाडौं ।

Advertisement

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले ३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।

Advertisement

बीमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले गत आवमा कृषि, पर्यटन, जलस्रोत, लगायत पूर्वाधारका क्षेत्रमा ३ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ लागनी गरेका छन् । जसमा निर्जीवन बीमा कम्पनीहरुले ७७ करोड ४ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोड ८१ लाख रुपैयाँ सो क्षेत्रमा गत आवमा लगानी गरेका हुन् ।

गत आवको असार मसान्तसम्म बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २ खर्ब ८९ अर्ब ६ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ४५ अर्ब ५१ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले २ खर्ब ४३ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ लगानी सो शिर्षकमा गरेका हुन् ।

सो अवधिमा विकास बैंकहरुको मुद्दति निक्षेपमा ३७ अर्ब २२ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा बीमाकम्पनीहरुले ३ अर्ब ८० करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ६७ करोड २७ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीले र ३ अर्ब १३ करोड ७० लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुले गरेका हुन् ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले शेयर बजारमा मात्रै ६० अर्ब २ करोड ५४ रुपैयाँ लगानी गरेका छन् । यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गरेको कुल लगानीको ११.८४ प्रतिशत हुन्छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ८६ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्।

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ९४ करोड ५९ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र १८ अर्ब २९ करोड ७९ लाख, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ७८ करोड ६१ लाख रुपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।

जीवन बीमा अन्तर्गत एलआईसी नेपालले सबैभन्दा धेरै १० अर्ब २३ करोड ८७ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । एलआईसीले सूचीकृत कम्पनीको साधारण शेयरमा २ अर्ब ६६ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ७ अर्ब ४८ करोड र म्युचुअल फण्ड तथा नागरिक लगानी ८ करोड ४५ लाख रुपैयाँ लगानी गरेको हो ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेको छ भने नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले पनि शेयर बजारमा ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम लगानी गरेको छ ।

शेयर बजारमा सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मी लाइफले सो अवधीसम्ममा सूचीकृत कम्पनीको साधारण शेयरमा ९ लाख २० हजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा २७ लाख ९० हजार रुपैयाँ र म्युचअल फण्ड तथा नागरिक लगानीकोषमा १५ हजार रुपैयाँ गरी ३८ लाख ६० हजार रुपैयाँ मात्रै लगानी गरेको छ।

यसैगरी,गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४० करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् । त्यस मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । शिखरले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३७ करोड १९ लाख, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ६२ करोड ६८ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ३ करोड ७८ लाख रुपैयाँ गरी एक अर्ब ३ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीले पनि सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८५ करोड ९५ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ करोड ९९ लाख रुपैयाँ गरी ९१ करोड ९४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ ।

शेयर बजारमा सबैभन्दा कम लगानी गर्नेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १२ लाख र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा एक करोड ७३ लाख रुपैयाँ गरी एक करोड ८५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ ।