April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चाडपर्व लक्षित ४३ स्थानमा सहूलियल मूल्य पसल सञ्चालनमा

चाडपर्व लक्षित ४३ स्थानमा सहूलियल मूल्य पसल सञ्चालनमा

असोज १, काठमाडौं ।
दशैं तथा तिहारलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज बाट ४३ स्थानमा सुपथ मूल्य पसल  सञ्चालनमा ल्याएकाे हाे ।

Advertisement

कम्पनीको कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। सदाझैं यस वर्ष पनि दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन सपिङका प्लेटफर्म प्रयोग गरी घरघरमै सुपथ मूल्यमा खाद्यान्न दिने भएको छ। गोगो २० एप र नेपाल फुड, सस्तो डिल नेपाल, मुकुन्डो नेपाल वेभ पोर्टलसँग सहकार्य गरी सुपथ मूल्यमा घरघरमै खाद्य वस्तु पुर्‍याउने व्यवस्था गरिएको छ।

सुपथ पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट पाइन्छ। भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट पाइन्छ।  सुपथ पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आफ्ना उत्पादन बिक्री गर्नेछन्।

जिउँदो खसी र बोकामा पनि प्रति केजी १० रुपैयाँ छूटको व्यवस्था गरिएको छ। कम्पनीले बजारको मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा  ल्याउने गरेको छ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न क्षेत्रबाट दुई हजार खसी÷बोका र तीन हजार च्याङ्ग्रा  ल्याउने तयारी गरेको हो।

दाङ र मकवानपुरबाट यस वर्ष एक÷एक हजार खसीबोका र मुस्ताङबाट तीन हजार च्याङ्ग्रा  ल्याइने भएको छ। कम्पनीले गत वर्ष १ हजार ५ सय ९ वटा खसीबोका खरिद गरेको थियो। कोभिडका कारण मुस्ताङबाट गत वर्ष च्याङ्ग्रा  ल्याउन नसकिएको कम्पनीले जनाएको छ। आव २०७६÷०७७ मा दाङबाट ६ सय र वीरगञ्जबाट ५ सय वटा खसीबोका ल्याइएको थियो। उक्त वर्ष १ हजार ९ सय २० वटा च्याङ्ग्रा ल्याइएको थियो।

काठमाडौं उपत्यकामा खाद्य कम्पनीको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने भएको छ। यस्तै, उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ। यी सबै सुपथ मूल्य पसल १ असोजबाट २४ कात्तिकसम्म सञ्चालन हुनेछन्।