March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वास्तुविद विश्वकर्मा पूजा, के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व ?

वास्तुविद विश्वकर्मा पूजा, के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व ?
असोज १, काठमाडौं ।आज विश्वकर्मा पूजा देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् ।भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भीड लाग्छ । यो पूजा सबै कलाकार,शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ ।

Advertisement

विश्वकर्मा भगवान को हुन् ?

Advertisement

भगवान महादेवले व्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् । भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण श्रृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ ।

एक कथाअनुसार वाराणसीमा धार्मिक व्यवहारबाट चल्नेवाला एउटा रथकार आफ्नो पत्नीको साथ बस्थे । आफ्नो कार्यमा उनी निपुण थिए । तर, विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनतपछि खानुबाहेक अन्य सम्पत्ति जोड्न सकेका थिएनन् । पति जस्तै पत्नी पनि पुत्र नभएका कारण चिन्तित थिइन् । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्तकहाँ पनि जान्थे, तैपनि उनको यो इच्छा पूरा भएको थिएन । त्यसैबेला उनको एक छिमेकी व्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए, ‘तिमी भगवान विश्वकर्माको शरणमा जाउ, तिम्रो ईच्छा पूरा हुनेछ ।

यसपछि रथकार एवं उनकी पत्नीले अमावस्या तिथिमा भगवान विश्वकर्माको पूजा गरे जसबाट उनीहरुलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरु सुखी जीवन व्यतीत गर्न लागे, कथामा उल्लेख छ ।