August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

दुई महिनामा सरकारको कुल खर्च ८९ अर्ब ९४ करोड, पुँजीगत खर्च साढे २ अर्ब मात्र

दुई महिनामा सरकारको कुल खर्च ८९ अर्ब ९४ करोड, पुँजीगत खर्च साढे २ अर्ब मात्र

असोज ६, काठमाडौं ।

Advertisement

सरकारले चालु आर्थिक वर्ष २०७८/७८ को दुई महिनामा कुल  ८९ अर्ब ९४ करोड खर्च गरेको रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेट खर्च गर्न पाउने दिन भदौ ३० सम्म कुल बजेट खर्च ८९ अर्ब ७३ करोड ५ लाख रुपैयाँ रहेको थियो । त्यसयताको ५ दिन (सोमबारसम्म) मा  २० करोड ९७ लाख रुपैयाँ बजेट खर्च भई कुल ८९ अर्ब ९४ करोड २ लाख रुपैयाँ बजेट खर्च पुगेको छ ।

Advertisement

जुन कुल बजेट १६ अर्ब ४७ करोडको ५.४६ प्रतिशत हो । सरकारले दुई महिनामा ५८ अर्ब ५९ करोड रुपैयाँ साधारण खर्च गरेको छ । जुन कुल विनियोजित चालू बजेट १० खर्ब चार अर्बको ५.८३ प्रतिशत हो । यस अवधिमा सरकारले वित्तीय व्यवस्थातर्फ १३.८२ प्रतिशत अर्थात् २८ अर्ब ७३ करोड खर्च गरिसकेको छ ।  असार ३० मा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै गर्दा जनार्दन शर्माले पुँजीगत खर्च वृद्धिको एजेन्डा बनाउने घोषणा गरे ।

उनले पुँजीगत खर्च गर्नै नसक्ने र असारमा आएर खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने आफ्नो योजना रहेको सुनाए । तर, उनले अर्थ मन्त्रालय सम्हालेको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्चमा कुनै सुधारको संकेत देखिएको छैन । चालू आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्च १ प्रतिशत पुग्न सकेको छैन ।  कार्यालयका अनुसार ४ असाेजसम्ममा दुई अर्ब ६१ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन विनियोजित पुँजीगत बजेट चार खर्ब ३५ करोडको ०.६ प्रतिशत मात्रै हो ।

गत आवको सुरुको दुई महिनाको तुलनामा यस आवमा सरकारको पुँजीगत खर्च झन् कम देखिएको छ । अंक र अनुपात दुवैमा गत वर्षको भन्दा कम पुँजीगत खर्च भएको हो । ४ असाेजसम्म भएको खर्च गत आवको सोही अवधिको तुलनामा ०.४६ प्रतिशत बिन्दुले कमी हो । रकमका आधारमा एक अर्ब १४ करोडले कम खर्च भएको हो । गत आव ०७७/७८ को पहिलो दुई महिनामा सरकारले तीन अर्ब ७५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो । जुन विनियोजित बजेटको १.०६ प्रतिशत हुन आउँछ ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेको दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । तर, अर्थमन्त्री शर्माले अब हरेक महिना कम्तीमा १० प्रतिशत पुँजीगत खर्च गर्ने घोषणा गरिसकेका छन् । पुँजीगत खर्च वृद्धि गर्ने योजना बनिसकेको भन्दै उनले मासिकन्यूनतम १० प्रतिशत पुँजीगत खर्च हुने बताएका छन् । बजेटमा बढेको राजनीतीकरण र खर्च गर्नै नसक्ने प्रवृत्तिले गर्दा मासिक १० प्रतिशत पुँजीगत खर्च गर्न सहज भने नदेखिएको सरोकारवाला बताउँछन् ।

खर्चमा कमजोर देखिएको सरकारको राजस्व संकलन भने उत्साहप्रद देखिन्छ । दुई महिनामा सरकारले एक खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको १५.३१ प्रतिशत हो । चालू आवमा सरकारले कुल ११ खर्ब ५१ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ ।