नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित
साताको दोस्रो दिन सोमबार शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभावपछि सेयर बजारमा नकारात्मक असर परेको देखिन्छ । सुरुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिप्रति गुनासो गरेका लगानीकर्ताले सोही कारण बजारमा नकारात्मक असर पर्ने बताएका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एकाघर परिवारका व्यक्ति तथा एउटा संस्थाले एउटै बैंक वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन प्रकृतिको सेयर धितोकर्जा लिन पाइने नीतिगत व्यवस्था गरेको थियो ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि बैंकहरुले व्याजदर बढाएका छन् । बैंकहरुले बढाएको व्याजको कारण कर्जा महंगो भएपछि सेयर बजारमा त्यसको असर परेको देखिन्छ । यस्तै, केही क्षेत्र तथा कम्पनीको सेयर मूल्य अवास्तविक रुपमा बढेको गुनासो पनि थियो । सोही कारण कतिपय नीति निर्माताहरुले सेयर बजारमा ‘हावा भरेको मूल्य’ भनेर नकारात्मक टिप्पणी पनि गरेका थिए ।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे। यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो।
सूचीकृत भएयता मनकामना स्मार्टको मूल्य प्रायः १० प्रतिशतका दरले बढ्दै आएको छ। सोमबार कम्पनीको मूल्य प्रतिकित्ता १५९३ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। यी ३ बाहेक सबै कम्पनीको मूल्य घटेको छ।
गुमाउनेमा गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि रहे। ती सबै कम्पनीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घट्यो। यस दिन कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
प्रतिकृया दिनुहोस्