August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

चिनियाँ नाकामा अड्कियो अर्बौंको सामान, अवरोधले व्यापारी मर्कामा

चिनियाँ नाकामा अड्कियो अर्बौंको सामान, अवरोधले व्यापारी मर्कामा

असोज १३, काठमाडौं ।
करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त बनाएको व्यापार विस्तारै चलायमान हुँदै गएको अवस्था छ । तर चीनतर्फको नाका सहज हुन नसक्दा व्यापारीले आयात गरेको अर्बौंको मालवस्तु नाकामा अड्किएको छ । दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर आयात गरिएका मालवस्तु  नाकामै अड्किएको व्यारीहरु बताउछन् ।

Advertisement

गत वर्ष पहिलो चरणको कोभिडले गर्दा निकै थलिएको बजारमा विभिन्न समस्यासहित दशैंतिहार मनाउनु पर्ने बाध्यता सिर्जना भएको थियो । साथै, गत वर्ष कोभिड–१९ का कारण व्यापार राम्रोसँग गर्न नपाएको व्यवसायीहरूले बताएका थिए । नेपालीहरुको महान चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भिड बढ्न थालेको छ । सामान्य अवस्थाको तुलनामा वार्षिक व्यापार हुनेको ४० प्रतिशत दशैंतिहार हुने गर्दछ । सोहीअनुसार उद्योगी र व्यापारीले बजारका लागि आवश्यक लत्ताकपडा आयात र अर्डर गर्ने गर्दछन् । नेपालमा अधिकांश तयारी कपडा तथा इलेक्ट्रिक सामग्री चीनबाट आयात हुन्छन् । कोभिड–१९ को महामारी फैलिएसँगै चीनतर्फको नाका हालसम्म सहज हुन सकेको छैन ।

Advertisement

गत वर्ष चीनतर्फको नाका सहज हुन नसक्दा नेपाली व्यवसायीले भनेअनुसारको तयारी कपडा उपभोक्तालाई उपलब्ध गराउन सकेको थिएन । हाल दशैं नजिकिँदै गर्दा उपत्यकाको व्यापार केन्द्र मानिने न्यूरोड र महाबौद्धमा भिड बढ्न थालेको छ । तर दसैँलाई लक्षित गर्दै व्यापार गर्नका लागि छ महिनाअघिदेखि सामान मगाएका व्यापारीहरू यतिबेला चिन्तित छन् । गर्मीका लागि र दसैँका लागि भनेर मगाइएको सामान अहिलेसम्म नआएपछि उनीहरूलाई समस्या परेको हो । यसअघि हवाईमार्गबाट सामान ढुवानी गर्दा भाडा अत्यधिक महँगो हुने, पानीजहाजबाट ल्याउँदा झन्झटिलो हुने भएकाले सडकमार्गलाई व्यापारीहरूले प्राथमिकतामा राखेका थिए । तर, सडक मार्गबाट पनि सामान ल्याउने क्रममा अनेक अवरोध भैरहँदा पछिल्लो डेढ वर्षको अवधिमा व्यापारीहरूले चरणबद्ध हैरानी व्यहोर्नुपयो । सामान्यतया चीनबाट सामान मगाउँदा १ हप्तादेखि १५ दिनसम्ममा आउनुपर्ने हो । तर, अहिले छ महिनादेखि एक वर्षसम्म ती सामान नआउँदा व्यवसायीहरू अत्तालिन थालेका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी व्यापार सहजताका लागि विभिन्न चरणमा छलफलहरू भए पनि अपेक्षाअनुसारको सुधार हुन नसकेको स्वीकार्छन् । सामान्यतया चीनबाट आयात हुने मालवाहक कन्टेनर दैनिक १८÷१९ वटा भित्रिँदै आएकोमा अहिले भने उक्त नाकाबाट दैनिक ७ देखि १० वटासम्म मात्रै भित्रिएको हिमालय सिमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।उनकाअनुसार अहिले करिब उक्त नाकामा करिब १ हजार कन्टेनर अड्किएका छन् । त्यसमा तयारी पोसाक मात्रै नभएर अन्य खाद्यान्नलगायत इलेक्ट्रिक सामग्री अर्बौको अड्किएको उनको भनाइ छ । व्यापार संघले करिब डेढ वर्षदेखि असहज बन्दै गएको नाका चीन सरकारलाई सहज बनाउनका लागि सरकारसँग बरम्बार सम्बोधन गर्दासमेत कुनै सम्बोधन नभएको उनको गुनासो छ ।