१२ हजार युवालाई सहुलियत ऋण, सीटीईभीटी र युवा स्वरोजगार कोषबीच भयो समझदारी
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच १२ हजार युवालाई सहुलियत ऋण दिने विषयमा द्विपक्षीय समझदारी भएको छ । गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार सीटीईभीटीले प्रत्येक स्थानीय तहमा सम्बन्धित क्षेत्रको स्रोतसाधनको प्रयोग तथा स्थानीय आवश्यकताको आधारमा छोटो तथा लामो अवधिको सीप तथा अभिमुखीकरण एवं क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्नेछ । कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले देशमा स्वरोजगारी र उद्यमशीलता विकासका लागि कोषले काम गर्दै आएको भन्दै आफूहरुले अनुदान नभएर सस्तो ऋणमार्फत् उद्यमशीलता विकास गरिरहेको उल्लेख गरे ।
दुवै संस्थाको सहकार्यमा श्रम बजारको मागमा आधारित लामो तथा छोटो अवधिका सीपयुक्त जनशक्ति तयार गरी उद्यमशिलता विकास, उद्यम स्थापना गर्ने लक्ष्यसहित बीउ पुँजी दिने भएको परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । पुँजीको अभावमा उद्यम गर्न नपाएका युवाको पहिचान गरी उद्यम सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराउने, सीपयुक्त युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय, संयोजन एवं सहजीकरण गरिने सम्झौतामा उल्लेख छ ।
परिषद्का सदस्य सचिव काफ्लेले प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमको क्षेत्रमा विभिन्न पेशा व्यवसायमा युवा लक्षित छोटो तथा लामो अवधिको सीपमूलक तालिम सञ्चालन गर्दै स्वरोजगार तथा रोजगार स्थापना गर्न सहकार्य गरिएको बताए । यसैगरी, युवा तथा साना व्यावसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विगत एक दशकदेखि उद्यमी युवालाई स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालनका लागि वित्तीय सहयोग गर्दै आएको बताउँदै सहयोग उपलब्ध गराउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस्