May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

फेरि लकडाउन भए अर्थतन्त्रले धान्न सक्दैन : अर्थमन्त्री शर्मा

फेरि लकडाउन भए अर्थतन्त्रले धान्न सक्दैन : अर्थमन्त्री शर्मा

पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेसँगै मुलुकमा लकडाउनको चर्चा चल्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी बढेसँगै नेपालमा पनि लकडाउनको चर्चा सुरु भएको हो । यसैबीच अर्थमन्त्री जनार्दन शर्माले अब फेरि पनि मुलुकमा लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताए ।

Advertisement

यस्तै, अब फेरी पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने भन्दै उनले मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । यस्तै, तरलता अभावकै बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा समेत कमी गर्न मन्त्री शर्माले निजी क्षेत्रसँग आग्रह गरे । जहाँ पुँजीगत खर्चको कुरा छ, त्यसमा अन्य मन्त्रालयहरुले खर्च नगरिदिँदा, कमजोर र धीमा कर्मचारीतन्त्रका कारण समस्या परिरहेको मन्त्री शर्माले बताए ।

Advertisement

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको तथ्यांकहरुले देखाइरहेका छन् । संक्रमणदर बढेसँगै सरकारले पनि अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । साथै सरकारले माघ १५ गतेसम्म विद्यालय गर्ने निर्णय गरिसकेको छ । यस्तै हिजोको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गरेको हो । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । यता अर्थमन्त्री जनार्दन शर्माले मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि तत्काल लकडाउन गर्ने पक्षमा छैन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमणदर बढ्दैमा लकडाउन गरिहाल्नु नपर्ने बताए ।