March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

विवादकाे केन्द्रमा मान्छेमा गरिएको सुँगुरको मुटु ट्रान्सप्लान्ट !

विवादकाे केन्द्रमा मान्छेमा गरिएको सुँगुरको मुटु ट्रान्सप्लान्ट !

अमेरिकाका डेभिड बेनेट आनुवंशिक रुपमा परिवर्तित सुँगुरको मुटु मानिसमा ट्रान्सप्लान्ट गर्ने संसारकै यस्तो पहिलो व्यक्ति बनेका छन् । चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट यति बिरामी थिए कि उनमा मानिसको मुटु ट्रान्सप्लान्ट गर्न सम्भव थिएन । ७ घण्टा लामो ‘एक्सपेरिमेन्टल’ उपचारपछि अहिले उनको स्वास्थ्य सुधार भइरहेको छ ।

Advertisement

यो शल्याक्रियाबाट मुटु ट्रान्सप्लान्ट कम समयमा पनि हुने गरेको भन्दै केही मानिसले प्रशंसा पनि गरिरहेका छन् । यति मात्रै होइन, संसारभरिका मुटु रोगी र खास गरी मुटु ट्रान्सप्लान्ट गर्नुपर्ने बिरामीका लागि यो खुसीको कुरा हो । किनकि उनीहरूले यसबाट नयाँ जीवन पाउन सक्नेछन् ।

Advertisement

तर केही मानिसले यो प्रक्रिया नैतिक रुपमा ठिक हो ? भनेर प्रश्न पनि उठाइरहेका छन् । यसरी प्रश्न उठाउनेहरूले बिरामीको सुरक्षा, पशु अधिकार र धार्मिक चिन्तातर्फ इशारा गरिरहेका छन् ।

यस्तो अवस्थामा सुँगुरको मुटु ट्रान्सप्लान्ट विवादित हो ?

चिकित्सकको नजरमा

यो एक प्रयोगात्मक शल्यक्रिया हो । जसमा बिरामीको स्वास्थ्यलाई लिएर जोखिम उठाउनुपर्छ । यहाँसम्म कि मेल खाने मान्छेले दान गरेको अंगको ट्रान्सप्लान्सपछि पनि शरीरले अस्वीकार गर्न सक्छ । यस्तो अवस्थामा जनावरको अंग हुनुले खतरा झनै बढाउँछ । संसारका केही देशका चिकित्सकले केही वर्षदेखि जनावरको अंग प्रयोगको कोसिस गरिरहेका छन् । यसलाई ‘जेनोट्रान्सप्लान्टेशन’ भनिन्छ । सन् १९८४ मा क्यालिफोर्नियामा एक बालिकालाई लंगुर बाँदरको मुटु ट्रान्सप्लान्ट गरेर बचाउने कोसिस गरिएको थियो । तर उनको २१ दिनपछि मृत्यु भयो । यस प्रकारका उपचार धेरै जोखिमपूर्ण हुन सक्छन् । तर केही मेडिकल नैतिकतावादीहरू यदि बिरामीलाई जोखिमको बारेमा थाहा भएमा अघि बढ्न सकिने बताउँछन् ।

‘यहुदी कानुनको पहिलो चिन्ता मानिसको जीवन बचाउनु हो, यदि कसैलाई जिउँदो रहनु छ र भविष्यमा उसले राम्रो जीवन बाँच्न सक्छ भने एक यहुदी बिरामीलाई एक जनावरको अंग प्रत्यारोपित गर्न सकिन्छ ।’
युनिभर्सिटी अफ अक्सफोर्डमा प्राक्टिकल इथिक्स प्राध्यापक जुलियन स्यावलेस्क्यु भन्छन्, ‘तपाई उपचार लगत्तै बिरामी बाँच्छ कि मर्छ भनेर थाहा पाउन सक्नुहुन्न । तर जोखिम नउठाईकन तपाई अघि बढ्न पनि सक्नुहुन्न । प्राध्यापक स्यावलेस्क्यु सबै विकल्प प्रयोग गर्नुपर्ने बताउँछन् । जसमा मेकानिकल हर्ट सपोर्ट र ह्युमन ट्रान्सप्लान्ट पनि पर्छ । डेभिड बेनेटको शल्यक्रिया गर्ने चिकित्सकहरू उनका सामू अर्को कुनै विकल्प नभएका कारण यो नै सही विकल्प भएको बताउँछन् । यदि तत्कालै शल्यक्रिया नगरेको भए उनको ज्यानै जान सक्थ्यो ।

प्राध्यापक स्यावलेस्क्यु कुनै पनि शल्यक्रियाभन्दा अघि ‘धेरै कडा टिस्यु र नन ह्युमन एनिमल टेस्टिङ’ गर्नुपर्ने र यसबाट प्रक्रिया सुरक्षित भएको निश्चित गर्न सकिने बताउँछन् । डेभिड बेनेटको ट्रान्सप्लान्ट क्लिनिकल ट्रायलको हिस्सा थिएन, जस्तो कि प्रयोगात्मक परीक्षणमा प्रयोग गरिने औषधि र उनको परीक्षण पनि गैर–मानव अंग प्रत्यारोपणको प्रक्रियाअनुसार गरिएको थिएन ।

बेनेटको उपचारमा संलग्न डाक्टर क्रिस्टिन लाऊ आफूहरूले वर्षौँदेखि मानवलाई सुरक्षित बनाउने उपायको खोजीमा वर्षौँदेखि यस्ता उपायहरू अपनाउँदै आएको बताइन् ।

पशु अधिकार कार्यकर्ताको विरोध

मानवमा प्रत्यारोपणका लागि सुँगुरको प्रयोगको केही पशु अधिकार समूहले विरोध गर्दै आएका छन् । अब डेभिडको उपचारले यो बहसलाई नयाँ मोड दिएको छ । यस्तै एक संगठन पीपल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्सले बेनेटको उपचारका लागि सुँगुरको प्रयोगलाई अनैतिक, खतरनाक र संसाधनको बरबादी भन्दै निन्दा गरेको छ ।

अभियानकर्मीले जनावरलाई मानवजस्तो बनाउनका लागि उनीहरूको जिनमा बदलाब गर्नु गलत भएको बताएका छन् । जुन सुँगुरको मुटु ट्रान्सप्लान्ट बेनेटमा गरिएको थियो, वैज्ञानिकहरूले त्यो सुँगुरका १० वटा जिन परिवर्तन गरिदिएका थिए । बेनेटको शरीरले त्यसलाई अस्वीकार नगरोस् भनेर यस्तो गरिएको थियो । अपरेसनका दिन सुँगुरको मुटु निकालिएको थियो ।

बेलायतको पशु अधिकार समूह एनिमल एडका प्रवक्ताले आफूहरूले कुनै पनि अवस्थामा जनावरको जिनमा बदलाव या जेनो ट्रान्सप्लान्टेशनको विरोध गर्ने बताएका छन् । केही अभियानकर्मीहरूले सुँगुरमा गरिएको आनुवंशिक परिवर्तनको दीर्घकालीन असरलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बायोइथिक्सका फेलो डाक्टर क्याट्रियन डेवाल्डर जिन एडिडेट सुँगुरको प्रयोग उनीहरूलाई अनावश्यक नोक्सानी हुँदैन भन्ने सुनिश्चित भएपछि मात्रै गर्नुपर्ने बत्ताउँछिन् । उनी भन्छिन्, ‘मासुका लागि सुँगुरको प्रयोग गर्नु जीवन बचाउनका लागि गर्नुभन्दा केही गुणा बढी दुःखको कुरा हो । तर निश्चित रुपमा जनावरको हितलाई पनि नजरअन्दाज गर्न सकिँदैन ।’

धर्मको नजर

अर्कातिर ट्रान्सप्लान्टलाई आस्थाको नजरबाट समेत हेरिएको छ । धर्ममा आस्था राख्नेहरूका अनुसार मानिसमा जनावरको अंग ट्रान्सप्लान्ट गर्नु सही हैन । यद्यपि सुँगुरको सम्बन्धित अंग मानिसको अंगको आकारको हुने भएकाले यसैलाई रोज्ने गरेका छन् । साथै सुँगुरलाई राख्न र नस्ल बढाउन अपेक्षाकृत सहज हुने गर्छ । सुँगुरलाई लिएर धार्मिक रुपमा कडा नियम भएका यहुदी र मुस्लिम बिरामीहरूका लागि भने यसले कस्तो असर पार्छ भनेर अहिल्यै भन्न सकिँदैन । यहुदी नियम कानुनमा सुँगुर पाल्नु वा खान रोक लगाइएको छ ।

तर युके हेल्थ डिपार्टमेन्टका मोरल इथिकल एडभाइजरी ग्रुप (एमईएजी) का सिनियर रब्बी डाक्टर मोशे फ्रिडम्यान सुँगुरको मुटु ट्रान्सप्लान्ट गर्नु यहुदी नियमको उल्लंघन नभएको बताउँछन् । उनी भन्छन्, ‘यहुदी कानुनको पहिलो चिन्ता मानिसको जीवन बचाउनु हो, यदि कसैलाई जिउँदो रहनु छ र भविष्यमा उसले राम्रो जीवन बाँच्न सक्छ भने एक यहुदी बिरामीलाई एक जनावरको अंग प्रत्यारोपित गर्न सकिन्छ ।’ इस्लाममा पनि यस्तै हो । यदि जीवन बचाउने कुरा भइरहेको छ भने जनावरको अंग प्रयोगको अनुमति हुन्छ ।

प्राध्यापक स्यावलेस्क्यु यदि कुनै बिरामी धार्मिक या नैतिक आधारलाई लिएर जनावरको अंग प्रत्यारोपण गर्न अस्वीकार गर्छ भने मानव अंग दाताको प्रतीक्षा सूचीमा कम प्राथमिकता दिनु पर्ने बताउँछन् । आखिर जे भए पनि डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपणले फेरि एक पटक मानवमा जनावरको अंग प्रत्यारोपणको बहसले प्राथमिकता पाएको छ ।

ज्याक हन्टर/बिबिसी