May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

एभरेष्ट बैंकको दुई अर्बको ऋणपत्र बिक्रीमा

एभरेष्ट बैंकको दुई अर्बको ऋणपत्र बिक्रीमा

एभरेष्ट बैंकले आजबाट दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन् । उक्त ऋणपत्रमा खरिदका लागि छिटोमा माघ ६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्रका इकाई बिक्रीका लागि माग परेको खण्डमा भने माघ १७ गतेसम्म निष्काशन अवधि तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका सेयर खरीका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री खुला हुने २० लाख कित्ता ऋणपत्र मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (सामूहिक लगानी कोषका लागिछुट्याइएको ५ प्रतिशत अर्थात ४० हजार कित्ता समेत) सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

Advertisement