May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै शहरी विकास मन्त्रीको पत्रकार सम्मेलन, कार्यकर्ताले यसरी गरे पक्षमा वकालत

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै शहरी विकास मन्त्रीको पत्रकार सम्मेलन, कार्यकर्ताले यसरी गरे पक्षमा वकालत

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिनमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकर्ता उतारेर समर्थनमा बोलाएकी छिन् । सम्मेलनमा उपस्थित पत्रकारले तीन महिनामा विगतमा भएभन्दा फरक खास काम नभएको, पहिलेकै जस्तो काम भएपनि प्रेस विज्ञप्तिमा के के न भएजस्तो गरी प्रस्तुत भएपछि एक दशकभन्दाअघिदेखि शहरी विकास मन्त्रालयकै विषयमा समाचार संकलन गर्दै आएका पत्रकारले प्रतिवाद गरेपछि योजनाबद्ध रुपमा उपस्थित भएका कार्यकर्ताले राम्रो काम भएको दावी गरे । धेरै पत्रकारले आलोचनात्मक प्रश्न गरेपछि मन्त्री झाँक्रीका कार्यकर्ताले अन्तिममा परिचय र सञ्चारमाध्यमको नामसमेत नभनीकन मन्त्रीको पक्षमा वकालत गरेका हुन् ।

Advertisement

पत्रकारले चर्को आलोचना भएपछि मन्त्री झाँक्रीले आफूसँग सम्बन्धित प्रश्न नभएको दावी गर्दै मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयका प्रमुखलाई जवाफ दिन लगाएकी थिइन् । जसमध्ये शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले चाकडी शैलीमा मन्त्री झाँक्रीको पालामा के के न काम भएजस्तो गरी वकालत गरेका थिए ।

Advertisement

सम्मेलनमा करिब ६० जनाको उपस्थिति रहेकामा ४० जना जति त मन्त्रीका कार्यकर्ता नै थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका ती कार्यकर्ता मन्त्री झाँक्रीको देवत्वकरणकै लागि त्यहाँ उपस्थित भएको कार्यक्रमको स्वरुपले नै बुझ्न सकिन्थ्यो । कार्यक्रममा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको समेत खुलेआम उल्लंघन भएको थियो ।

शुक्रबारमात्र मन्त्रिपरिषद् बैठकले कोरोना महामारीबाट बच्न जारी गरेको विभिन्न आदेशमा २५ जनाभन्दा बढी मानिस कुनै पनि कार्यक्रममा उपस्थित हुन नपाउने व्यवस्था थियो । मन्त्री झाँक्रीले त्यसको समेत उल्लंघन गरेकी छिन् । सम्भवत ः नेपालको कानून दैवले जानून् भनेको यही होला । मन्त्रीलाई कानून नै नलाग्ने भएपछि कसरी बन्छ देश ? भन्दै कार्यक्रममा उपस्थित पत्रकारले गाइँगुइँ गरेको सुनिन्थ्यो ।

सो वसरमा मन्त्री झाँक्रीले शहरी पूर्वाधारसम्बन्धी कानून निर्माण र नीति सुधारमा उल्लेखनीय काम आफ्नो १०० दिने अवधिमा भएको दावी गर्नसमेत भुलिनन् । मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बताइन् ।

मस्यौदा तयार भएको शहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु अधिवेशनमै दर्ता गर्न लागिएको मन्त्री झाँक्रीले जानकारी दिइन् । नगर विकास कोषको सङ्गठन संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गर्न लागिएको जानकारी पनि उनले गराइन् । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा पनि मन्त्रालय जुटेको मन्त्री झाँक्रीको भनाई थियो ।

“वाग्मतीको नयाँ गुरुयोजना बनाउन आवश्यक छ, वाग्मती नदीलाई स्वच्छ बनाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विधेयक मस्यौदा पनि अन्तिम चरणमा पुगेको छ, धापमा निर्माण भएको जलाशयमा यसै वर्षको वर्षादेखि पानी जम्मा गरी वाग्मतीमा हिउँदमा पनि बहाव बढाउने तयारी भएको छ”–उनले भनिन् ।

नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पूजा दिने क्रममा १०० परिवार लाभान्वित भइसकेको दावी पत्रकार सम्मेलनमा गरिएको छ । बाँकी परिवारलाई पनि दिने तयारीमा मन्त्रालय लागेको छ ।

दुई वर्षदेखि बैठकसमेत बस्न नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरण भोतिक विकास समितिका बैठक बसी उपत्यकामा चार नयाँ शहर निर्माणको काम अघि बढाउने निर्णय गरिएको छ । समितिको अर्को बैठक बाहिरी चक्रपथ निर्माणको कामसमेत अघि बढाउने तयारी भएको छ ।

संविधानमा पहिलोपटक समावेश भएको आवासको हक कार्यान्वयनका लागि पनि मन्त्रालयले काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले नदीको सार्वजनिक क्षेत्रमा अतिक्रमण बढेकाले निर्मम रुपमा प्रस्तुत हुन लागेको बताए । उनले नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्न लागिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले तीन महिने अवधिमा राउटेलाई आवास निर्माणको शुरुवातदेखि प्रधानमन्त्री निवासको काम सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ निवासमा सरेको प्रसङ्गसमेत उपलब्धिका रुपमा रहेको बताए ।

मन्त्रालयको प्रवक्तासमेत रहेका सहसचिव विष्णुप्रसाद शर्माले मन्त्रालयको १७ प्रतिशत पुँजीगत र ३५ प्रतिशत चालु खर्च भएको बताए । मन्त्री झाँक्री आएको तनि महिने अवधिमा करिब दुई हजारवटा नयाँ घर विपन्न वर्गका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत बनाउन सफल भएको दावी पनि उनले गरेका थिए ।