May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

एक वर्षभित्र तीनै तहको निर्वाचन : प्रधानमन्त्री देउवा

एक वर्षभित्र तीनै तहको निर्वाचन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका हुन् ।

Advertisement

‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

Advertisement

उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिए ।

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने पनि बताए ।

देउवाले मेलम्चीको पानी यस वर्षभित्र काठमाडौंवासीका लागि ल्याइने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने जानकारी दिए ।

उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । उनले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए ।