प्याराग्लाइडिङ विश्व कप एशियन टुर पोखरामा हुने
२० माघ, काठमाडौं ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा प्याराग्लाइडिङ विश्व कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा एक हप्ता सम्म सञ्चालन हुने १९ औं सस्करणको उक्त विश्वकपमा नेपालसहित, ३० देशका १२५ चालक सहभागी हुने आयोजकले जनाएको छ ।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एफएआइ बाट लाइसेन्स प्राप्त गरेको र विश्व पाइलट ¥याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने उक्त प्रतियोगिता एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने व्यवस्थापकको भनाई रहेको छ ।
‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौं स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने भएको छ। त्यस्तै महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौं स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोग रहने उक्त प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।
प्रतियोगिता पोखरा र सिङ्गो राष्ट्रको इज्जतसँग जोडिएकाले यसलाई सफल बनाउन साथै मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिइएको छ ।
प्रतिकृया दिनुहोस्