April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…

मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…

वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ।

Advertisement

कर्णाली प्रदेशकै ठूलो अस्पतालभित्रको यो दृष्यले धेरैलाई आश्चर्यचकित बनाएको छ। ‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पताल प्रशासनलाई पनि जानकारी गराए।

Advertisement

अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ। अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ।

अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरू गरेको जानकारी दिए।

डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘सिसिटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७ः ३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ ।’

नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।

आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरूवाले तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्नासाथ अस्पतालको लापरबाही भन्दै टीकाटिप्पणी भएको थियो।

कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए। प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ।