May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

पञ्चाङ्ग निर्णायक विकास समिति डुबाउँदै कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल

पञ्चाङ्ग निर्णायक विकास समिति डुबाउँदै कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।
यस वर्ष समितिसँग स्वीकृति नलिई निस्किएका नेपाल र मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का लागि समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सामग्री दिएको एक पञ्चाङ्कारले वाणिज्य न्यूज डटकमलाई नाम नछाप्ने शर्तमा जानकारी गराए । ढुङ्गेलको पञ्चाङ्ग सूर्य र स्वीकृति नलिई प्रकाशन भएका दुवै पात्रोमा एकै खाले गल्ती रहेको थियो ।

Advertisement

समितिले १४ वटा पात्रोलाई पुस १६ गते स्वीकृति दिएको थियो । स्वीकृति दिएपछि पञ्चाङ्गकार र समितिका पदाधिकारीले करिब एक हप्ता समितिकै कार्यालयमा बसेर ग्रहणका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा कार्यकारी निर्देशक ढुङ्गेलको पञ्चाङ्गको पृष्ठ ७३ मा उल्लेख गरिएको ग्रहणको विषयमा गल्ती थियो । त्यो गल्ती पञ्चाङ्गकारले औँल्याएपछि सूर्य पञ्चाङ्गमा सच्याइएको छ । सूर्य पञ्चाङ्ग प्रकाशन हुँदा यो गल्ती सुध्रेर आएको र त्यही गल्ती स्वीकृति लगत्तै नेपाल र मुक्तिनाथ पञ्चाङ्गलाई दिएर तत्काल प्रेसमा पठाएकाले सच्याउन नसकिएको स्रोतले जनाएको छ ।

Advertisement

दुवै पञ्चाङ्गमा सूर्यग्रहण फल ठीक छ । चन्द्रग्रहण फलमा भने सूर्यग्रहण फलकै कपी गरेर पेस्ट गरेपछि नसच्याएको स्वरुपमा मेष राशिको पनि स्त्रीपीडाबाट सुरु गरिएको छ । चन्द्रग्रहण फलमा घातबाट सुरु हुनुपर्ने थियो । सूर्य पञ्चाङ्गले भने पञ्चाङ्गकारले औँल्याएपछि यो गल्ती सच्याएको स्रोतको दावी छ । यो गल्ती औँल्याउने पञ्चाङ्गकार र त्यो बैठकमा सहभागीहरु त्यतिबेला छाँगोबाट खसेजस्ता भए जतिखेर नेपाल र मुक्तिनाथ पञ्चाङ्ग बजारमा आयो ।

बैठकमा सूर्य पञ्चाङ्गमा जे गल्ती जुन पृष्ठमा थियो । दुवै पञ्चाङ्गमा त्यही गल्ती तिनै पृष्ठमा रहनुले पनि समितिको स्वीकृति नलिई प्रकाशन भएका दुवै पञ्चाङ्गलाई कार्यकारी निर्देशक ढुङ्गेलले नै सामग्री दिएको पुष्टि भएको हो । दुवै पञ्चाङ्गलाई कार्यकारी निर्देशक ढुङ्गेलले नै पात्रोका सामग्री दिएको पुष्टि गर्ने अर्को आधार भनेको पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेशको दफा ७ को ञ र ठ बुँदामा उल्लेख भए अनुसार कारबाही नगर्नुले पनि पुष्टि गर्ने ती पञ्चाङ्गकारको भनाई छ ।

लाखौँको खेलमा कार्यकारी निर्देशक
सरकार मातहतको समितिको सम्पत्तिका रुपमा रहेको सामग्री कार्यकारी निर्देशकले लाखौँ रुपैयाँमा बेचेको स्रोतको दावी छ । यस वर्षका पात्रोमा बजारमा पहिलोपटक स्वीकृति नै नलिएका नेपाल र मुक्तिनाथ पञ्चाङ्ग देखा परेका थिए । बजारमा पात्रो आएपछि त्यसैका आधारमा भित्तेपात्रो छापिने भएकाले यसमा लाखौँको खेल हुने गरेको छ ।

डेढ दशकभन्दा लामो समयदेखि यही खेलमा लागेकै कारण रामेछापका एक सरकारी शिक्षकले राजधानीका चावहिलमा घर र निजी गाडी जोड्न सकेको पनि स्रोतले जनाएको छ । कार्यकारी निर्देशकको सम्पत्तिको छानबिन गर्न पनि उनका सहकर्मीले माग गरेका छन् ।

आफैँले सामग्री दिएका पञ्चाङ्गलाई कारबाही गर्नुपर्ने पदमा ढुङ्गेल छन् । तर उनले केही पनि कारबाही अघि बढाएका छैनन् । अहिलेसम्म लिखित रुपमा स्पष्टीकरणसमेत सोधिएको छैन । कारबाही नगरी समितिका पदाधिकारी एवं सदस्यलाई कार्यकारी निर्देशकले गुमराहमा राखेको ती पञ्चाङ्गकारको भनाई छ ।

तीन जना पञ्चाङ्गकारले फागुनमै समितिमा स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता गराएकामा अहिलेसम्म केही पनि प्रक्रिया अघि बढाएको छैन । समितिका कार्यकारी निर्देशकले सरकारी सञ्चारमाध्यमलाई प्रयोग गरी मौखिक स्पष्टीकरण सोधिने समाचार सार्वजनिक गरेर हास्यापद काम गर्नुले पनि उनने दुवै पञ्चाङ्गलाई सामग्री उपलब्ध गराएको पुष्टि हुन्छ ।

कार्यकारी निर्देशक समितिको कार्यालय प्रमुखका रुपमा समेत काम गर्ने पद भएकाले पनि पदाधिकारी भन्दा जिम्मेवार हुनुपर्नेमा गैर जिम्मेवार भएका छन् । कार्यकारी निर्देशक ढुङ्गेलले आफू अनुकुल समितिलाई चलाउने गरेका छन् । समितिका गतिविधि अपारदर्शी छन् ।

गठन आदेशको मस्यौदा हुँदादेखि नै ढुङ्गेलले खेल खेल्दै आएका छन् । समितिको गठन आदेशमा अध्यक्ष र सदस्य पदको योग्यतामा ज्योतिष वा धर्मशास्त्र विषयमा आचार्य गरेकालाई मात्र नियुक्त गर्ने व्यवस्था गरिएको छ । तर समितिको कार्यकारी निर्देशक एवं कार्यालय प्रमुख भई काम गर्नुपर्ने पदमा भने जुनसुकै विषयमा स्नातक गरे पुग्ने योग्यता राख्न नै ढुङ्गेलले आफू अनुकुल काम गरेको पञ्चाङ्गकारको भनाई छ ।

यस विषयमा मन्त्रालयले पनि राम्रोसँग नहेर्दा व्यवस्थित गर्न खोजिएको पात्रो र भित्तेपात्रोको काम लथालिङ्ग अवस्थामा पुगेको छ । ढुङ्गेलले स्वार्थ अनुकुल समितिलाई हिँडाउँदा पनि मन्त्रालयले अनुगमन गरेको छैन ।

वैशाखको पहिलो हप्तामा पनि निस्किएन राष्ट्रिय पञ्चाङ्ग
समितिले यस वर्ष सरकारी पात्रोका रुपमा राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्ने घोषणा गरे पनि अझै बजारमा देखिएको छैन । यसो गर्नुमा पनि कार्यकारी निर्देशक ढुङ्गेलेकै हात रहेको छ । निजी क्षेत्रबाट समितिको स्वीकृतिमा निस्कने पञ्चाङ्ग पुस अन्तिम सातादेखि नै बजारमा देखिएको थियो । तर सरकारी पात्रो अझै बजारमा आएको छैन ।

कार्यकारी ढुङ्गेल आफैँ सूर्य पञ्चाङ्गको हर्ताकर्ता भएकाले आफ्नो पात्रो बिक्रीमा असर गर्ला भनेर ढिलाई गरिरहेको समिति स्रोतले वाणिज्य न्यूज डटकमलाई जानकारी गराएको छ । सरकारी संस्थाजति डुबाउने खेलमा ढुङ्गेल पनि सहभागी बनेका छन् ।

रामेछापमा सरकारी शिक्षक भएकै बेला ढुङ्गेलले राजदरबारको शक्ति प्रयोग गर्दै समितिमा काज मिलाई सदस्य सचिव हुँदै अहिले कार्यकारी निर्देशक पद हत्याएका हुन् । उनकै तजबिजले व्यवस्थित हुन लागेको यो क्षेत्रमा झन् विकृति मौलाउने देखिएपछि सार्वजनिक रुपमा यी विषय ल्याउनुपरेको स्रोतले जनाएको छ ।