May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

१८ करोड बढी राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

१८ करोड बढी राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी १८ करोड रुपैयाँ बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।

Advertisement

विभागले काठमाडौं महानगरपालिका-१३, बाफल बस्ने शुभलक्ष्मी इन्टरनेसनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंक, एचवी ट्रेड एन्ड सम्लायर्स र एमके इन्टरनेसनलसमेतका मुख्य कारोबारी मनीषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवी ट्रेड एन्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिंका खाता सञ्चालक र एमके इन्टरनेसनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।

Advertisement

यस्तै, एमके इन्टरनेसनलका प्रोपराइटर प्रमित महर्जन, एचवी ट्रेड एन्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिंकका प्रोपराइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

शुभलक्ष्मी इन्टरनेसनलसमेतका कम्पनीले राजस्व चुहावट गर्ने मनसायस्वरूप नक्कली तथा झुटा मूल्य अभिवृद्धि करको बीजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको फेलापरेको विभागले एक सूचना जारी गरी जनाएको छ । उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दाबी गरेको छ ।

अनुसन्धान गर्दा १८ करोड पाँच लाख ६८ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले बिगो असुल गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग-दाबी गरेको छ ।