April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

पल शाहको मुद्दामा सुनुवाइ आज, जेलमुक्त होलाकी नहोलान ?

पल शाहको मुद्दामा सुनुवाइ आज, जेलमुक्त होलाकी नहोलान ?

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ । बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठान आदेश दिएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका थिए । जसको सुनुवाई आज उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासबाट हुने भएको हो । तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।

पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ । यसअघि दुवै जिल्ला अदालतमा पल शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै दुवै अदालतमा मुद्दा दर्ता भएका छन् ।
गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाईसँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ ।

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने पलको माग छ । नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन् । जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ । यसअघि जाहेरीमा पलले बलात्कारको आरोप लगाए पनि पीडित नाबालिग र जाहेरवाला उनका बुबाले पनि बलात्कार नभएको बयान दिएका छन् ।

Advertisement