घरेलु मैदानमा ओमानसँग नेपाल ८ विकेटले पराजित
माघ २६, काठमाडौं ।
विश्वकप लिग २ को आफ्नो तेस्रो खेलमा आइतबार नेपालबाट जितको अपेक्षा राखिएको थियो। पहिलो खेलमा ओमानसँग १८ रनले गुमाए पनि अर्को खेलमा नेपालले अमेरिकामाथि जित हासिल गर्दैै जितको यात्रा सुरु गरेको थियो ।
अघिल्ला दुई खेलको दाँजोमा राम्रो सुरुवात र एक दिवसिय क्रिकेटमै आफ्नो तर्फबाट अहिले सम्मकै उच्च २ सय ५० रनको लक्ष्य दिएपछि नेपालले दोस्रो जित निकाल्ने अपेक्षा गरिएको थियो । त्यस्तो अवस्थाबाट नेपालले ८ विकेटले खेल गुमायो ।
टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो ।
ओमानका लागि अकिव इलियासले शतक बनाए । उनले नटआउट १०८ रन जोडे । उनको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । त्यस्तै कप्तान जिशन मक्सूदले नटआउट ६८ रन जोडे भने ओपनर खवार अलीले ४१ र जतिन्दर सिंहले २३ रन जोडे । नेपालका लागि कुशल मल्ल र सुशन भारीले १÷१ विकेट लिए ।
यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाएका थिए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५ तथा कुशल मल्लले २८ रन बनाएका थिए । त्यस्तै ओपनर सुवास खकुरेलले २२ एवम् आरिफ शेखले २८ तथा करण केसीले १० रन जोडे ।
ओमानका लागि अकिब इलियासले ४ र मोहम्मद नादिनले नेपालको ३ विकेट लिए । यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले हारेको थियो । शनिबार भएको खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालले अब मंगलबार अमेरिकासँग शृंखलाको अन्तिम खेल खेल्नेछ ।
प्रतिकृया दिनुहोस्