बजारमा कालोबजारी भएको समय बैंकहरुले गरे सय किलो सुन आयात
तरलता अभावसँगै केन्द्रीय बैंकले सुनको आयातमा पनि कडाई गरेपछि नेपालमा कानूनी रुपमा जम्मा सय केजी मात्र सुन आयात भएको छ । बैंकर्स एशोसियसनले जनाएअनुसार डेढ महिनामा बैंकहरुले उक्त सुन आयात गरेका हुन् ।
बैंकर्स एशोशियसनले गत चैत २४ गतेदेखि सुनको आयात पुर्ण रुपमा रोकेको थियो । वैदेशिक मुद्रा संचितिमा दवाव परेको भन्दै सुन आयातमा कडाई गरेयता केही बैंकले पुनः सुन आयात सुचारु गरेका छन् । फागुनमा मात्रै केन्द्रीय बैंकले सुन आयातको कोटा २० केजीबाट घटाएर १० केजीमा झारेको थियो । त्यस यताको समय अधिकांश बैंकले सुन आयात गरेका थिएनन् । राष्ट्र बैंकको कोटा निर्धारणमा बैंकहरुले दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइरहेका छन् । यसैको आधारमा अहिले ग्लोबल आइएमई बैंक र प्रभु बैंकले सुन आयात सुरु गरेका छन् । हाल नेपाली बैंकमा ३१ किलो सुन स्टकमा रहेको एशोसियसनले जनाएको छ ।
नेपाली बजारमा सुन अभाव भएसँगै कालोबजारी समेत बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवन्धका कारण पछिल्लो समय नेपालमा सुन आयात ठप्प रह्यो । जसका कारण बिहेकै सिजनमा बजारमा सुनको हाहाकार मच्चियो । यस्तो बेलामा सुन पसलेहरुले नै तोकिएको मूल्यभन्दा बढीमा सुन किनिरहेका छन् । सुन पसलेहरुले बढी मूल्यमा किनेको सुनका गहना बनाउँदा उपभोक्तामाथि ज्याला र जर्तीका नाममा बढी भार थप्दै आएका छन् । यसको असर सिधै उपभोक्तालाई परेको छ ।
पछिल्लो समय राष्ट्र बैंकको निर्देशनका कारण सुन आयात नभएपछि बजारमा सुनको अभाव भएको छ । बैशाखको महिना यसै पनि धेरै बिहेको लगन भएको महिना हो । यहि बेलामा नेपाल राष्ट्र बैंकले सुनको आयात रोकिदिएको थियो । अघिल्ला बर्षहरुको बैशाख महिनामा दैनिक ३५ देखि ४० किलो सुनको माग हुन्थ्यो । यसपटक माग पनि त्यति थिएन तर, पनि सुनको अभाव भयो ।
चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८÷७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो ।
तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि रु २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले रु दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ ।
केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्