May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

जेठमा ब्याजदर नबढाउने बैंकर्स एसोसिएसनको निर्णय, बैंक दुईदिन बन्द रहने

जेठमा ब्याजदर नबढाउने बैंकर्स एसोसिएसनको निर्णय, बैंक दुईदिन बन्द रहने

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले जेठ महिनामा ब्याजदर नबढाउने भएको छ । फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर स्थिर राखेका थिए । अब चैतमा पनि ब्याजदर स्थिर राखिने भएको हो ।
सरकारको विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकोले ब्याजदर स्थिर राख्ने सहमति बनेको एक बैंकरले बताए । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।

Advertisement

यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ । यही निर्णयका आधारमा सबै सदस्य बैंकहरुलाई जानकारी पठाइने संघले जनाएको छ ।

Advertisement

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले ब्याजदर बढाउँदा निक्षेप बढ्ने नभई अस्थिरता मात्र ल्याउने हुँदा ब्याजदर स्थिर राख्ने निर्णय भएको बताए ।
सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसके पनि विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले भने निर्णय गरेका छैनन् ।
अब जेठ महिनाका लागि पनि वैशाखकै ब्याजदर कायम राख्ने भएका हुन् । जसअनुसार वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत तोकेका छन् ।

गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।

जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।