May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब २६ करोड घाटामा

मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब २६ करोड घाटामा

सरकारले विभिन्न प्रयास गरेपनि अर्थतन्त्रका सूचकहरु झन् खस्किएका छन् । सरकारको कोसिसका बाबजुद चालू आर्थिक वर्षको ९ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरु ओरालो लागेको पाइएको छ । नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने रकम धेरै भएका कारण शोधनान्तर स्थिति ऐतिहासिक रुपमा घाटामा गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को चैत मसान्तसम्म देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर (शोधनान्तर) २ खर्ब २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको नवौं महिनामा चालू खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । ९ महिनाको अवधिमा निर्यात ६९.९ प्रतिशतले बढेपनि व्यापार घाटा नियन्त्रणमा त्यसको कुनै सकारात्मक प्रभाव परेको छैन । ९ महिनाको अवधिमा १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोडको मात्रै निर्यात भएको केन्द्रीय बैंकले जनाएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा वैदेशिक विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आइ ९ अर्ब ६१ करोड कायम भएको छ । समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्बले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आइ ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले बढेर १६ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

कूल विदेशी विनिमय सञ्चिति (विदेशी मुद्राको सञ्चिति) पनि घट्दो क्रममा रहेको छ । नेपालसँग रहेको विदेशी मुद्रा (विनिमय) सञ्चिति चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत ३ अर्ब ८ करोड रुपैयाँले घटेको छ ।
फागुन मसान्तसम्म कूल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आइ १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आइ १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ ।