March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन

देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन हो । २०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।

Advertisement

स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि मतगणना जारी छ ।

Advertisement

मुलुकको सबैभन्दा जेठो र ठूलो काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालसमेत बिहीबारदेखि पूरा हुँदै छ । कार्यकाल सकिनु अघिल्लो दिन प्रमुख शाक्यले काठमाडौँको बौद्धस्थित महानगरपालिका–६ को वडा कार्यालय भवन उद्घाटन गर्नुभयो तर शाक्यले उद्घाटन गरेको वडा कार्यालयको निर्माण सकिनै बाँकी छ । चारतले भवनको बाहिरी संरचना पूरा भए पनि भित्री कोठा तयार भएका छैनन् ।

भवन उद्घाटन गर्दै शाक्यले भौतिक संरचनाको विकासमा उल्लेख्य काम गरेको दाबी गर्नुभयो । उनले भने, “मेरो पाँचवर्षे कार्यकालमा रुखको बिरुवा रोप्ने काम भएको छ । यसले भविष्यमा फल दिनेछ ।” शाक्यले आफूले राम्रो काम गरे वा गरिनँ भन्ने तुलना भावी जनप्रतिनिधिको कामबाट समेत थप स्पष्ट हुने बताए। कार्यकालको अन्तिम चरणमा निर्माण पूरा नभएका भवनको उद्घाटन गर्ने शैलीलाई शाक्यले समेत निरन्तरता दिए।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप, धरहरालगायत पुरातत्विक सम्पदाको पुनर्निमाण पूरा नभएका अधुरा संरचना उद्घाटन गरेको आरोप पूर्ववर्ती सरकारमाथि लाग्दै आएको थियो । कामनपाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको काष्ठमण्डप तथा धरहरा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको भन्दै आलोचना भएको थियो ।

काठमाडौँलाई स्मार्ट सहर बनाउने तथा मनोरेल चलाउने शाक्यको चुनावी परिकल्पना चुनावी एजेन्डाका रूपमा सीमित रहे । उपत्यकाको फोहोर व्यवस्थापन तथा सहरी क्षेत्रको सडक विस्तारमा समेत शाक्यको कार्यकालमा खासै प्रगति हुन सकेन । गोरखापत्र दैनिकबाट