March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आजपनि संसदमा बजेटमाथि सैद्धान्तिक छलफल अनिश्चित

आजपनि संसदमा बजेटमाथि सैद्धान्तिक छलफल अनिश्चित

आजपनि संसदमा बजेटमाथि सैद्धान्तिक छलफल अनिश्चित भएको छ । १२ गते दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि आज नबस्ने भएको छ । सरकारले १२ गतेको बैठक १६ गते सम्म सारिदिन सभामुख अर्जुनबहादुर थापालाई आग्रह गरेपछि बैठक १६ गते सम्म सारिएको हो । बैठकमा अर्थमन्त्री नै नरहने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो । प्रदेश अर्थमन्त्री रावल अहिले नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी हुन काठमाडौं पुगेका छन् ।

Advertisement

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले २०७९÷०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए । असार १ गते प्रस्तुत भएको बजेटमाथि ८ गते प्रदेशसभामा छलफल हुने कार्यसूची रहेको थियो । तर, सत्ता पक्ष र विपक्षबाटै विरोधपछि ८ गते प्रदेश सभा बैठक नै नबसी १३ गतेको लागि बैठक आह्वान गरिएको थियो । सरकारको तर्फबाट प्रदेश अर्थमन्त्री रावलले नै सभामुख थापालाई फोन गरेर बैठक सारिदिन आग्रह गरेका थिए । यस अघि ८ गते कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बैठक स्थगित भए पनि आज परामर्श समितिको बैठक नबसी स्थगित गरिएको हो ।

Advertisement

यता सत्ता पक्षमै रहेको नेपाली कांग्रेसले भने सरकारले विरोध सहज नसक्ने भए पनि बैठक स्थगित गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले भने, ‘सरकारलाई हामीले बजेट परिस्कृत गर्न भनेका थियौँ अहिलेसम्म कुनै पहल भएन । यही अवस्थामा सांसदले बहिष्कार गर्ने डरले संसद् स्थगित गरिएको हुन सक्छ ।’उनले बजेट उपयुक्त नभएको बताउँदै आएका थिए । यता प्रतिपक्ष दल नेकपा एमालेले पनि यही अवस्थामा बजेटमाथि छलफल हुन नसक्ने जनाउँदै आइरहेको छ ।

‘सरकारले नीति र सिद्धान्तविपरीत बजेट ल्याएको छ कुनै पनि अवस्थामा यो बजेट माथि छलफल हुन सक्दैन’ एमालेका नेता पठानसिंह बोहराले भने ‘सरकारले विरोध झेल्न नसक्ने भए पनि संसद् स्थगित गरेको हो । सुदूरपश्चिम सरकारले ल्याएको बजेटको विरुद्धमा अहिले सत्ता पक्ष र विपक्ष एकै ठाउँमा उभिएका छन् । उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नु पर्ने बताइरहेका छन् । बजेट संशोधन नगरे सम्म प्रदेश सभामा छलफल हुन नसक्ने उनीहरूको दाबी रहेको छ । सुदूरपश्चिम प्रदेशका बजेटमा लुम्बिनी प्रदेशका योजनाहरू पनि भेटिएपछि सांसदहरू थप रुष्ट भएका हुन् । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गा विकले सांसदहरूको माग अझै पूरा नभएको हुँदा सरकारले बैठक सार्न आग्रह गरेको हुन सक्ने बताइन् । उनले अघिल्लो परामर्श समितिको बैठक सम्झँदै भनिन्, त्यो बेला सबैले सरकारलाई बजेटमा केही थपघट गर्न आग्रह गर्नुभएको थियो त्यो अझै सम्म नभएको हुँदा सरकारले बैठक सार्न आग्रह गरेको हुनुपर्छ ।