रोजगारीका लागि युरोपियन मुलुक खोज्दै सरकार
१३ फागुन, काठमाण्डौ ।
सरकारले युरोपेली मुलुकमा रोजगारीको अवसर खोज्ने भएको छ । मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेशिक रोजगार लाई प्रतिफलमुखी बनाउन सरकारले युरोपेली मुलुकमा रोजगारी खोज्ने तयारी गरेको हो ।
सरकारले युरोपियन मुलुक टर्की, पोल्यान्ड, पोर्चुगल, सेसेल्स, रोमानीया लगायतका मुलुकसँग श्रम–सम्झौता गर्ने भएको छ । सरकारको योजनाअनुसार युरोपियन मुलुकसँग श्रम–सम्झौता भएमा नेपाली कामदार शून्य लागतमा नै जान पाउनेछन् ।
आकर्षक गन्तव्य मुलुकमा रोजगारीको अवसर कम हुँदा कामदार मलेसियासहित खाडीका साउदी अरब, कतार, संयुक्त अरब इमिरिटे्स (यूएई) मा जान वाध्य छन् । पोल्यान्ड र पोर्चुगलमा केही कामदार जाने गरे पनि युरोपका अन्य देशमा कामदार जान पाएका छैनन् । त्यसैले सुरक्षित रोजगारीका लागि सरकारले युरोपियन मुलुकसँग श्रम–सम्झौताको योजना अघि सारेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा टर्कीका लागि १ हजार ६ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन । पोल्यान्डका लागि १ हजार १ सय ९५, पोर्चुगल ४ सय ६१, सेसेल्समा ६ सय ७९, रोमानिया १ हजार २ सय ३९ ले श्रम स्वीकृति लिएका छन् ।
टर्कीसँगको प्रक्रिया केही अगाडी बढी सकेको छ भने अन्य मुलुकसँग सरकारले प्रारम्भिक सुरुवात गरेका छ् । टर्कीलाई श्रम–सम्झौताको मस्यौदा पठाइसकेको छ । तर, टर्कीको श्रम मन्त्रालयले भने प्रतिक्रिया पठाएको छैन । दुवै मुलुकका श्रम मन्त्रालयले एक–आपसको मस्यौदालाई सहमति जनाएमा दुवै मुलुकबीच सम्झौता हुनेछ ।
टर्कीमा नेपाली कामदारले मासिक ५० हजारको हराहारीमा पारिश्रमिक हुनेछ् । वार्षिक २० हजार कामदारको माग हुन सक्ने श्रम मन्त्रालयले अनुमान गरेको छ । नेपालले वैदेशिक रोजगारीका लागि १ सय १० वटा मुलुक खुला गरेको छ । तर, मलेसिया, कतार, जापान, बहराइन, कोरिया, मरिसस, इजरायल, जोर्डन र युएईसँग श्रम–सम्झौता गरेको छ । यी मुलुकहरूसँग सरकारले शून्य लागतको श्रम–सम्झौता गरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल नेपाल बाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन् ।
प्रतिकृया दिनुहोस्