आइएमई अव पब्लिक रेमिट्यान्स कम्पनी बन्दै
कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ । नेपालको पहिलो एवं नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न २२औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ ।
साधारणसभामा आइएमई गु्रपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मण गरे । अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे ।
त्यसैगरी आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटलयूगमा प्रवेश गरेको औँल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।
साधारणसभामा गु्रपका सिनियर भाइस प्रेसिडेन्ट एवं आइएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरे । अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।
यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढ्नेछ । रेमिट्यान्स सेवा प्रदायकहरूमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो ।
प्रतिकृया दिनुहोस्