फष्टाउँदै अर्बौं रुपैयाँको अबैध हुन्डी कारोबार
२१ फागुन, काठमाण्डौ ।
सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल) बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। वैदेशिक रोजगारीमा रहेका कामदारलाई नेपालमा रेमिट्यान्स पठाउन महँगो शुल्क तिर्नुपर्ने वाध्यकारी व्यवस्थाले गर्दा पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने जस्तै हुन्डी कारोबार दिन प्रतिदिन फस्टाउँदै गएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको थियो। आव २०७६÷७७ को दोस्रो महिनादेखि रेमिट्यान्स प्रवाहमा २.३ प्रतिशत घटेको छ। रेमिट्यान्सको ६० प्रतिशतभन्दा बढी अनौपचारिक माध्यमबाट आउने गरेको सरकारी अनुमान छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भारतबाट १ खर्ब २८ अर्ब ५० करोड अनुसार रेमिट्यान्स भित्रिएको थियो। त्यसमध्ये ३८ अर्ब अनौपचारिक र ९० अर्ब ५० करोड रेमिट्यान्स औपचारिकबाट भित्रिएको तथ्यांक छ।
हुण्डी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिका हो । विभागले कारोबारीलाई बिगोको तेब्बरसम्म जरिवानासहित तीन वर्ष कैद सजाय माग दाबी गरेको छ। यसको वावजुद हुण्डी कारोबार रोकिएको छैन ।
हुण्डीमार्फत आतंकवादी संगठनलाई सहयोग पुगेको भन्दै युरोप, अमेरिकाले पनि यस्तो कारोबारलाई बन्द गरेका छन् । तर नेपालमा यो अवस्था छैन । वैध तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले मान्छेहरु हुण्डीको कारोबारमा लाग्ने गरेका हुन्।
विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तर्रा्ष्ट्रिय रुपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि समेत हुण्डी हुने गरेको अपराध महाशाखाको अध्ययनले देखाएको छ। हुण्डी मार्फत कतिपय नेपालीले कालो धनलाई सेतो पार्न पनि हुण्डी गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । नेपालबाट गैरकानुनी रुपमा विदेश जाने पैसा पनि हुन्डीमार्फत नै जान्छ। गोप्य सूचनाका आधारमा सीमित कारोबारीलाई विभागले अनुसन्धानको दायरामा ल्याए पनि अर्बौं रुपैयाँको हुन्डी कारोबार हुँदै आएका छन् ।
विदेशबाट रेमिटेन्स ल्याउन नेपाल राष्ट्र बैंकले तीन दर्जनभन्दा बढी कम्पनीलाई अनुमति दिएको छ। तर हुन्डी कारोबार रोकिएको छैन। हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन्।
सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन उत्प्रेरित गर्ने उपयुक्त नीति र कार्यक्रम ल्याउन नसक्दा कामदार हुण्डीतर्फ आकर्षित हुने गरेका छन्। रेमिट्यान्स कम्पनी नपुगेको ठाउँमा कामदारले चर्को शुल्क तिर्न वाध्य छन्। रेमिट्यान्स सेवा नहुने बैंकबाट रकम पठाउँदा शुल्क बढी लाग्छ। आउजाउ गर्न समस्या हुने भएकाले पनि कामदार त्यसको विकल्प हुन्डी नै रोज्छन्। तर हुण्डी मार्फत् पैसा पठाउदा भरपर्दाे हुदैन भने पैसा बिचौलियाले खाइदिनसक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
प्रतिकृया दिनुहोस्